Comments Add Comment

Advertisment

SKIP THIS

करीब २९ महिनादेखि ठप्प तातोपानी र रसुवागढी नाकाबाट निर्यात खुल्ने प्रतीक्षामा नेपाली व्यापारी

६ साउन , काठमाडौं । कोरोना संक्रमणका कारण बन्द भएका उत्तरी तातोपानी र रसुवागढी नाकाबाट पछिल्लो समय सामान्य आयात भइरहे पनि निर्यात भने २९ महिनादेखि ठप्प छ। तातोपानी र रसुवागढी भएर मैदा, बेसार, खुर्सानी, बाँसको मुडा, कुचो, हस्तकलाजस्ता १ सय ८३ प्रकारका सामग्री चीनको ल्हासा, सिगात्से, आम्दो, जाङ्मु भेगलगायतका ठाउँमा पुग्ने गर्थे। कोरोनाका कारण ०७६ पुसदेखि ती सामानको निर्यात ठप्प छ । आर्थिक वर्ष २०७६/७७ मा रसुवागढी नाका हुँदै चीनतर्फ ७३ करोड ३० लाख ३४ हजार मूल्य बराबरको सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नाका सहज हुँदा महिनामै ४० टनसम्म बेसार र खुर्सानी रसुवागढी हुँदै चीन निर्यात गरेको कालिका गाउँपालिका–५ जिवजिवेका व्यापारी मुकुन्द पौडेलले बताउनुभयो। उहाँले निर्यात गरेका सामान पनि २९ महिनादेखि केरुङको गोदाममा थन्किएका छन्। रसुवागढी नाका हुँदै करिब डेढ सय व्यापारीले सामान निर्यात गर्दै आएका थिए । ती व्यापारीले केरुङसम्म पुर्‍याए पनि पछि त्यहाँ जान नपाउँदा गोदाममै थन्किएको हो। केरुङसम्म जान नपाउँदा उधारोसमेत उठाउन नपाएको पौडेलले सुनाउनुभयो।

भूकम्प, बाढीपहिरो र कोभिडका कारण चीनले स्थल नाकाबाट हुँदै आएको आयात–निर्यात व्यापारलाई निरुत्साहित गरेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको गुनासो गर्नुभएको कान्तिपुर अनलाइनमा खबर छ ।

२०७२ को भूकम्पयता तातोपानी र रसुवागढी नाका धेरै पटक बन्द हुने र खुल्ने भए । भोटेकोसी–२ को तातोपानी नाका भूकम्पपछि भौतिक संरचनासँगै व्यापारिक रूपमा अव्यवस्थित बन्यो । भूकम्पको चार वर्षपछि मालवाहक रूपमा खुलाइएको नाका भोटेकोसी बाढीपहिरोको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले खुम्चाइदियो ।

२० वर्षअघिदेखि चल्दै आएका १ हजार ४ सय मालवाहक कन्टेनर, २८ सय चालक र ५ हजार मजदुर बेरोजगार भए । नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाका अनुसार बर्खाले क्षतविक्षत कोदारी राजमार्ग (२६ किलोमिटर) मा मापदण्डविपरीत अत्यधिक तौलमा ४० फिटको चिनियाँ कन्टेनरबाट सामग्री आयात गरिएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेत ताल फुट्ने र कोभिडको कारण देखाएर सरकारको गैरजिम्मेवारीकै कारण चीन पक्षले एकतर्फी आयात मात्रै खुलाएको बताउनुहुन्छ। अहिले रसुवागढी नाकाबाट दैनिक १४ वटा चिनियाँ कन्टेनरबाट मात्र सामान आयात भइरहेको छ ।
गत जुलाई १४ मा नेपाली र चिनियाँ सरकारी अधिकारीले केरुङबाट दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति गरेका थिए । तर, सहमतिअनुसार कहिलेदेखि आयात–निर्यात गर्ने भन्ने तोकिएको छैन । आयात घटेसँगै राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले जनाएको छ । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ ।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै