सीसीटीभी फुटेज तिमी,
सत्ता र शक्तिको वरिपरि घुमिरह्यौ ,
कहिले सुधामाको घाँटी अठ्यायौ त,
कहिले हावाहुरी बताससँगै लडिरह्यौ ,
बिगतमा कयौं शक्तिहरुसँग नडराएका तिमी ,
अहिले कसरी एकाएक गायब भयौ ?
सीसीटीभी फुटेज तिमी कहाँ गयौ ?
हुन त सतीले सरापेको देश हो यो,
भलो गर्नेको संधै कुभलो मात्र हुन्छ ,
संधै हेलो हाई गर्नेको मात्र बोली बिक्छ ,
संधै चनाखो भएर बसिरहने तिमी,
सारा सुरक्षा कवचको बिचबाटै हरायौ,
न त एकवचन कसैलाई सोध्यौ,
न त आफ्नो कर्तब्यबोध नै गर्यौ ,
तर तिमी किन एकाएक गायब भयौ ?
सीसीटीभी फुटेज तिमी कहाँ गयौ ?
मध्यरातमा सुटुक्क ढुकुटीमा बिराजमान भइ,
बिचौलियाले देशको अर्थतन्त्र सखाप पार्दै गर्दा ,
तिमीले देखेपनि नदेखेझैं गर्नुपर्यो,
मुर्त बिचौलियाहरुको हातबाट तल झर्नुपर्यो,
हुन त बुख्यांचा मुखियाको कुर्ची ढलायौ,
छानबिन समिति गठन पनि गरायौ ,
तर तिमी किन एकाएक गायब भयौ ?
सीसीटीभी फुटेज तिमी कहाँ गयौ ?
चर्चित एमसीसी, एसीपीपी अनि सीसीटीभी,
नागरिकताको बिधेयकसँगै गयौ मिसीसीपी,
खोज्दै जाँदा, न पश्चिममा छौ, न त दक्षिणमा,
आखिर , अनुसन्धान सदैव जिज्ञासामा ,
१० बजे रातिसम्म ठीक ठाउँमा थियौ,
त्यसपछि मुखिया बिचौलियाको मनै बदलिदियौ,
तर तिमी किन एकाएक गायब भयौ ?
सीसीटीभी फुटेज तिमी कहाँ गयौ ?


