Comments Add Comment

Advertisment

SKIP THIS

उच्च प्रहरी अधिकारीसँगको सम्बन्ध दुरुपयोग गर्ने अमित श्रेष्ठ २१ दिनदेखि थुनामा

१७ साउन , काठमाडौं । उच्च प्रहरी अधिकारीहरुसँगको सम्बन्ध दुरुपयोग गरी २ जना सुरक्षाकर्मी लिएर रवाफका साथ हिंड्ने गरेका विवादास्पद ब्यापारी अमित श्रेष्ठ विगत २१ दिनदेखि थुनामा छन् । क्रिप्टोकरेन्सी तथा हुन्डी लगायत कारोबारमा उनी थुनामा छन् । प्रारम्भिक छानबिनमा उनले करोडौं कारोबारको स्रोत खुलाउन सकेका छैनन् ।

हैसियत नै नभए पनि तत्कालीन महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले ‘सुरक्षा थ्रेट’ का नाममा उनलाई २ जना प्रहरी दिएका थिए । कान्छी श्रीमतीसँग लफडा भएपछि उनले त्यसैलाई सुरक्षा थ्रेट भन्दै पहुँचको दुरुपयोग गर्दै सुरक्षाकर्मी लिएर हिंड्ने गरेका थिए । अमितलाई लुम्बिनी प्रदेशका तत्कालीन डीआइजी (हाल मेट्रोका एआइजी) रविन्द्रबहादुर धानुकको पनि साथ थियो । प्रहरीका उच्च अधिकारीसँगको पहुँच र सुरक्षाकर्मीसमेत भएको धाकधम्की देखाएर अमितले कान्छी श्रीमतीले अदालतमा दायर गरेको अंश मुद्दा फिर्ता गर्न लगाएका थिए ।

उच्च प्रहरी अधिकृतसँगको सम्बन्धको दुरुपयोग गरी विशाल सिमेन्टका पूर्वसंचालक अमितले आफ्ना ब्यवसायिक साझेदारहरुको कल डिटेल निकाल्ने काम गरी दुःख दिने गरेका थिए । उनीसँग विभिन्न ब्यापार ब्यवसायमा लगानी गर्ने हितैषी मित्रलाई समेत उनले हदैसम्म दुःख दिन प्रहरी शक्तिको यति धेरै दुरुपयोग गरे कि अहिले उनलाई थुनामा राख्दा सहानुभूति राख्नेसम्म कोही पनि प्रकट हुन सकेका छैनन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका भाइसँगको सम्बन्धलाई समेत उनले दुरुपयोग गरेका थिए । प्रहरीले अमितको ल्यापटपदेखि मोवाइल चेक गर्दा ३३ करोड रकम उनले नेपालबाट क्यानडामा लगेको देखिएको छ । जुन रकम चोलेन्द्रले मुद्दामा सेटिङ गरी आर्जन गरेको भ्रष्टाचारको भएको आशंका गरिएको छ । प्रहरी स्रोतले भीभीआईपीकै कनेक्सन देखिएको भन्दै कसको रकम हो भन्ने खुलाएको छैन ।

सुरुमा नुवाकोटबाट काठमाडौं आएपछि नयाँबजारको ग्यारेजमा काम गर्ने मजदुर अमित श्रेष्ठ १५ बर्षमा सिमेन्ट, होटलदेखि जग्गा र अबैध क्रिप्टो करेन्सीमार्फत् अरबको कारोबार गर्नसक्ने हैसियतमा पुगेको प्रहरी अनुसन्धानले नै खुलाएको छ ।

आफ्नो धरातल, साथीभाइ बिर्सेर एकपछि अर्कोलाई सिध्याउन खोज्दा आज उनै अमित खोरमा दिन बिताउन बाध्य छन् ।

अमितको कनेक्सन ३३ किलो सुन र सनम शाक्य हत्याको आरोप लागेपछि नेपालबाट भारत पलायन भई भारतको हरिद्वारमा जोगीको भेषमा लुकेर बसेका र पछि न्यायाधीश सेटिङ गरी सफाइ पाएका बाजेको सेकुवाका चेतन भण्डारी मात्र अहिले अमित छुटाउन हिंडेका छन् । चेतन भण्डारी, मोहन अग्रवाल र चुडामणि उप्रेती‘गोरे’का भाइ रमेश लगायतका ब्यक्ति सुनकाण्डमा तत्कालीन मोरङ जिल्ला अदालतका १ नम्बर न्यायाधीश भरत लम्सालसँग सेटिङ गरी उन्मुक्ति पाउन सफल भएका थिए । सुनकाण्डमा संलग्न चेतन भण्डारीसहितका ब्यक्तिहरुले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई नै बुझाई सफाइ पाएको समाचार यसअघि दृष्टिले उजागर गरिसकेको छ । स्रोतका अनुसार भण्डारीहरुले सुनकाण्डमा एकमुष्ट १० करोडको डिल गरेका थिए । सुनकाण्डमा सेटिङमा सफाइ दिने मोरङका १ नं न्यायाधीश भरत लम्साललाई हालै न्यायपरिषदले कालीकोटमा सरुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै