Comments Add Comment

Advertisment

SKIP THIS

औद्योगिक पार्क : शिलान्यास भएको १७ महिनामा पनि काम अघि बढेन

२६ साउन , काठमाडौं । दमक–१०, कमल–७ र गौरादह–५ को २१ सय बिघामा चीन–नेपालमैत्री पार्कको शिलान्यास भएको १७ महिना पूरा भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको औद्योगिक पार्क शिलान्यासपछि कुनै काम हुन सकेको छैन । ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा औद्योगिक पार्क २ वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख थियो ।

चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङफिङ जोइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्टको लगानीमा निर्माण गर्ने भनिएको पार्कमा २ वर्षभित्र सयभन्दा बढी उद्योग स्थापना हुने उद्घोष गरिएको थियो । यद्यपि, प्रक्रिया पूरा नगरी हतारमा शिलान्यास गरिँदा काम भने अघि बढ्न सकेको छैन ।

‘अझै पनि मुआब्जा विवाद कायमै छ । धनीपुर्जा भएर पनि नापी कार्यालयमा नक्सा नभएकाको, सुकुम्बासी र केही जग्गाधनीले मुआब्जामा आपत्ति जनाएका छन्,’ १ जना स्थानीय भन्छन्, ‘मुआब्जासँगै अन्य प्रक्रियासमेत पूरा नगरी शिलान्यास गरिँदा काम केही भएको छैन ।’

२१ सय बिघामध्ये १६ सय २० बिघा मात्र जग्गा उद्योगको नाममा आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले जानकारी दिए । हाल लगानी बोर्डमा काम रोकिएका कारण चीन–नेपालमैत्री औद्योगिक पार्क निर्माणको काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

‘लगानी बोर्डमा गएर रोकिएको छ । लगानी बोर्डबाट प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट हुन सकेको छैन । यो स्वीकृत नभई काम अघि बढ्न सक्दैन,’ उनले भने, ‘लगानी बोर्डले स्वीकृत गर्नुपर्छ । अहिले फिल्डमा जग्गा व्यवस्थापन र मुआब्जा दिने काम मात्र भइरहेको छ । भौतिक संरचना निर्माणको काम सुरु भएको छैन ।’

तर, लगानी बोर्डले भने प्रक्रिया अघि बढिरहेको जनाएको छ । बोर्डका प्रवक्ता अमृत लम्सालले प्रक्रियामा रहेको बताए । ‘हामीले प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट निगोसिएसनका लागि बोलाएको त डेढ महिनाजति भइसक्यो । तर, उनीहरू आएका छैनन्,’ उनले भने, ‘हाम्रोबाट त केही पनि काम रोकिएको छैन । उहाँहरू आएपछि २ पक्ष बसेर एग्रिमेन्ट गर्छौँ ।’

चीन–नेपालमैत्री औद्योगिक पार्कमा संरचना निर्माणका लागि प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट अनिवार्य भएको र चाँडै प्रक्रिया टुंगो लाग्ने उनले बताए । नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै