
१ भदौ , काठमाडौं । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ ।
प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ ।
निर्माता सन्तोष सेनका अनुसार चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको हो । उनका अनुसार यूएफओले चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ । ‘प्रेमगीत ३’ को समुद्रपार वितरण अधिकार यूएफओ र मधु इन्टरटेनमेन्टले लिएका छन् । चीनमा हिन्दी र अंगे्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नुपर्ने बाध्यता छ ।
चीन विश्वको सबैभन्दा ठूलो फिल्म बजार हो । सन् २०२१ को आँकडाअनुसार चीनमा फिल्मको कुल बजार ७.३ बिलियन अमेरिकी डलर छ । भारत चाहिं ०.५ बिलियन डलरसहित विश्वको आठौं ठूलो फिल्म बजार हो । दोस्रो ठूलो फिल्म बजार अमेरिकी फिल्म बजारको आकार सन् २०२१ मा ४.५ बिलियन डलर छ ।