९ भदौ , काठमाडौँ । ग्रिनकार्डसहित अमेरिका पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका-१ गैरीधाराबाट तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
ठगी आरोपमा प्रहरीले प्रेसिडेन्सियल इमिग्रेसन प्रालि कन्सल्टेन्सीका सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो।
संखुवासभा सिलिचोङ गाउँपालिका-२ घर भई काठमाडौं-६ सरस्वती नगर बस्ने ३५ वर्षीय परविन राई, पश्चिम नवलपरासी रामग्राम नगरपालिका-३ परासी बजार घर भई गोठाटार बस्ने ४६ वर्षीय ओमकार गुप्ता र इलाम सुर्योदय नगरपालिका-११ करफोक घर भई बसुन्धरा बस्ने ३४ वर्षीय सञ्जय तामाङलाई पक्राउ गरेको हो।
परविन राई यस कम्पनीका सञ्चालक हुन्। अरू दुई जना भने उपनिर्देशक हुन्।
अमेरिकाको ग्रिनकार्डसहित इमिग्रेसनको भिसामा वैदेशिक रोजगारमा पठाइदिने भन्दै उनीहरूले कुनै निकायबाट अनुमति नै नलिई सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा विज्ञापन दिएका थिए।
त्यसरी उनले सयौंलाई ग्रिनकार्डको प्रलोभन र भ्रममा पारी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो।
कार्यालयको टोली कम्पनी पुगेर उनीहरू तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले कम्पनी दर्ता गर्दा स्वदेश तथा विदेश अध्ययन गर्न जाने व्यक्तिहरूलाई शैक्षिक परामर्श दिने भनेर दर्ता गराएका थिए। तर शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखाबाट कुनै पनि अनुमति लिएको नदेखिएको प्रहरीले जनाएको छ।
उनीहरूले जापान, क्यानडा र अमेरिकाको ग्रिनकार्ड दिने ग्यारेन्टी समेत दिएर ठगी गरेको प्रहरी उपरीक्षक रेग्मीले बताए।
कामदारको रूपमा अमेरिका जान इमिग्रेन्ट भिसा र ग्रिनकार्ड प्रक्रियाका लागि दुई वर्ष समय लाग्ने र ५० हजार रुपैयाँ लाग्ने भन्दै दर्जनौं पीडितहरूबाट दुई/ तीन वर्षदेखि करोडौं रकम असुली गरिरहेको उनले बताए।
सुरूमा सम्पर्क आएका व्यक्तिहरूलाई अमेरिकाको प्रोसेसिङ गर्न कन्सुलिङ कक्षाको एक हजार शुल्क लिएर प्रलोभनमा पार्ने गरेको प्रहरीको भनाइ छ।
उनीहरूमाथि शिक्षा ऐन, २०२८ तथा ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौं पठाएको छ।






