१४ भदौ , काठमाडौ । पशुपतिनाथ मन्दिरको पूर्वी ढोका झण्डै १५ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको छ। २०६५ सालपछि पहिलोपटक यस वर्षको तिजको अवसर पारेर दर्शनार्थीका लागि पूर्वी ढोका खुला गरिएको हो।
पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको तत्कालीन सरकारले पशुपतिनाथ मन्दिरमा भारतीय भट्ट (मूल पूजारी)को ठाउँमा नेपाली भट्ट (मूल पूजारी) नियुक्त गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पशुपतिको बाहिरी मूलढोका (पूर्वी ढोका)बाट दर्शनार्थीको प्रवेशमा रोक लगाइएको थियो।
पूर्वी ढोकाबाट समेत प्रवेश गर्न दिएर यसवर्ष तिजमा भक्तजनका लागि ४ वटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ। वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरी पूर्वी ढोकाबाट प्रवेश गर्न मिल्ने बनाइएको हो।
कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ। यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयवागेश्वरी टोल सुधार समितिले पाएको छ।
दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शंकराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको छ। यहाँ पशुपति सृजनशील युवा क्लबले जुत्ता चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मेवारी लिएको छ।
तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भागमा राखिएको छ। यस स्थानको जुत्ता चप्पल व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ।
चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिएको छ।
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।



