२३ भदौ , काठमाडौँ । प्रहरीले पोखरा, बाँके र उदयपुरबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-३२ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित धादिङ गल्छी नगरपालिका-२ बस्ने ३१ वर्षीय चित्र बहादुर राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ५५२ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ दशबिगाहस्थित दैलेखी सुर्खेती आयुष गेष्ट हाउसका संचालक धनपति सुवेदीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको होटलबाट १ सय ३० मिलिग्राम र सोही नगरपालिका-५ एनसीसीएनस्थित उनको घरबाट ४० मिलिग्राम गरी उक्त परिमाणको ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको हो ।
उदयपुर, लिम्चुङबुङ गाउँपालिका-३ बाराहाबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लिमचुङबुङबाट खटिएको प्रहरीलाई देख्नासाथ स.५ प २९२६ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपछि मोटरसाइकलमा लोड गरी ल्याएको अवस्थामा प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । फरार मानिसको खोजी भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


