१ असोज , काठमाडौँ । दसैंलाई लक्षित गरेर यही असोजको १२ गतेदेखि भृकुटीमण्डपमा ‘ दसैँ कार मेला’ आयोजना हुने भएको छ । ‘क्यास अन ह्विल’ को आयोजनामा हुने मेला १४ गतेसम्म चल्नेछ । नयाँ र पुराना गाडी खरिद बिक्री गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजक कम्पनीका अध्यक्ष मोहन भण्डारीले ‘अटो एक्स्पो’ मा नयाँ सवारी किनबेचसँगै एक्सचेञ्ज अफर समेत राखिएको जानकारी दिए । उनले मेलामा २०० भन्दा बढी प्रयोग गरिएका सवारी साधन समेत बिक्रीका लागि राखिने र नयाँ सवारी समेत राखिने जानकारी दिए ।
बिहान १० बजेदेखि ६ बजेसम्म चल्ने मेलामा ५० हजारभन्दा धेरैले भ्रमण गर्ने बताइएको छ । बजारमा तरलता अभाव र सरकारको प्रतिबन्धका कारणले नयाँ सवारी उपलब्ध नहुँदा ‘सेकेन्ड ह्यान्ड’ सवारी बिक्रीका लागि मेला आयोजना गर्न लागिएको भण्डारीको भनाइ छ ।







