Comments Add Comment

Advertisment

SKIP THIS

मुटुरोगीको सङ्ख्या बढेकोमा चितवनका चिकित्सक चिन्तित

१२ असोज , काठमाडौ । चितवन जिल्लामा रहेका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गएको बताएका छन् ।

मुटुरोगको उपचार गर्ने चिकित्सकको संस्था ‘नेशनल हर्ट एण्ड लङ्ग सोसाईटी’ नेपाल र कान्तिपुर हेल्थले आज चितवनमा आयोजना गरेको चिकित्सक–पत्रकार अन्तक्रिया कार्यक्रममा उनीहरुले आम नागरिकमा रोगबाट बच्नका लागि आवश्यक जनचेतना जगाउन नसकिएकामा चिन्ता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणिप्रसाद गौतमले मुटु रोग तनाव, मधुमेह, धूमपान, व्यायामको अभाव, मदिरा, सुर्तीजन्य पदार्थको बढी उपभोगका कारण हुने गरेको बताए । उनले भने, “नेपालमा २८ देखि ३० प्रतिशत धूमपान गर्दछन् त्योभन्दा बढी सुर्ती खाने गर्दछन् ।”

वर्ष दिनमा एक पटक ७२ दशमलव आठ प्रतिशत नेपालीले मदिरा सेवन गर्ने गरेको अध्ययनले देखाएको भन्दै उनले ४८ दशमलव आठ प्रतिशतले नियमित मदिरा सेवन गर्ने गरेको जानकारी दिए ।

पन्ध्र वर्षदेखि ६९ वर्ष उमेरसम्मका समूहमा सन् २०१९ मा गरिएको सर्वेक्षणले यो तथ्य दिएको भन्दै उनले समयमा नियन्त्रण गर्न नसकेमा भविष्यमा समस्या जटिल बन्दै जाने बताए । नौ दशमलव एक प्रतिशत नेपालीमा मधुमेह रहेको भन्दै उनले थप १० प्रतिशत मधुमेहको जोखिममा रहेको बताए ।

उनले भने, “मधुमेहका बिरामीलाई मुटु रोग हुने उच्च सम्भावना हुन्छ ।” विश्वका १७ प्रतिशत मधुमहका रोगी भारतमा रहेको चर्चा गर्दै नेपाल र भारतको खानपान र जीवनशैली एउटै खालको भएकाले नेपाल पनि उच्च जोखिममा रहेको डा गौतमले बताए ।

उच्च रक्तचाप मुटु रोगका लागि बलियो कारक बन्दै गएको उनको भनाइ छ । उनले भने, “वयस्कमा २४ दशमलव पाँच प्रतिशत उच्च रक्तचाप रहेको छ ।”

नेपालमा मोटोपन र मोटोपन नभए पनि पेट ठूलो हुने हुँदा यो मुटुरोगका लागि जोखिम हुने पनि चिकित्सकले जानकारी दिए । सो अवसरमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको समस्या बढ्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment