Comments Add Comment

Advertisment

SKIP THIS

राजनीति आफैमा फोहोर होइन, राजनीति गर्नेले फोहोर बनाउने हुन् : मानुषी यामी भट्टराई

२९ असोज , काठमाडौं । नेपाल समाजवादी पार्टीकी मानुषी सत्ता गठबन्धनकाे तर्फबाट संघीय चुनावमा आफूलाई जनतामाझ परीक्षण गर्दैछिन्, त्याे पनि पहिलोपटक । काठमाडौं क्षेत्र नम्बर ७ मा उम्मेदवारी दर्ता गराएकी मानुषीले आफू समग्र युवाको प्रतिनिधित्व गर्ने दाबी गरेकी छन् ।

संविधानमा भएका मौलक हकको कार्यान्वयन, भ्रष्टाचारमुक्त समाज, सार्वजनिक संस्थाहरूको सबलीकरण, युवा बेरोजगारी हल, वातावरणमैत्री नीति, आत्मिक सुखलगायतका मापकहरूमा आफ्नो विशेष जोड रहने भन्दै मानुषीले आफ्ना एजेन्डा विस्तार गरेकी छन् ।

संस्थागत भ्रष्टाचारको विरोध गर्दै आएकी मानुषीले चुनावी खर्चलाई पारदर्शी बनाउन आम नागरिकबाट ‘क्राउडफन्डिङ’ गरेर पैसा उठाइरेहकी छन् ।

पहिलाे पटक मानुषीले चुनाव लडेकाे क्षेत्र भट्टराई परिवारका लागि भने नाैलाे हाेइन । काठमाडौं क्षेत्र नम्बर ७ त्यही क्षेत्र हो, जहाँबाट उनकी आमा हिसिला यमीले ०६४ मा भएकाे संविधानसभाको पहिलाे निर्वाचनमा विजयी भएर संविधानसभा सदस्य बनेकी थिइन् । तर ०७० काे दोस्रो चुनाव भने हिसिलाले हारिन् ।

यस अर्थमा हेर्दा मानुषीको चुनावी दौड राेचक छ । हिसिया ०७० को चुनावमा जोसँग पराजीत भएकी थिइन्, उनैसँग मानुषी प्रतिस्पर्धा गर्दैछिन् । अघिल्लोपल्ट हिसिलालाई हराएका एमालेका रामवीर मानन्धर यसपालि स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन् । रामवीर मात्रै होइन, मानुषीका बलिया प्रतिद्वन्द्विका रूपमा यसपटक नेकपा एमालेका श्याम घिमिरे पनि छन् ।

याे क्षेत्रमा रामवीरकाे प्रभाव राम्राे छ । ०७४ को प्रतिनिधिसभा चुनावमा नै एमालेबाट उम्मेदवार बनेका रामवीर १८ हजार १ सय २ मत ल्याएर विजयी भएका थिए । मानन्धरले ०७० सालको प्रतिनिधिसभाको चुनावमा पनि जित हासिल गरेका थिए । उनले कांग्रेसकी प्रमिला डंगोल र माओवादीकी हिसिला यमीलाई पराजित गरी जित हासिल गरेका थिए ।

उनी केपी ओली प्रधामन्त्री हुँदा सहरी विकास राज्यमन्त्रीसमेत बने । मानन्धरलाई यसपालि एमालेले टिकट नदिएर श्याम घिमिरेलाई दियो । मानुषीका लागि दुई उम्मेदवार चुनौतीका रूपमा छन् ।

यद्यपि, नयाँ नेतृत्वकाे खाेजी भइरहेकाे राजनीतिमा मानुषीका लागि केही सहज हुने आँकलन पनि गरिएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी मानुषीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र नेपाल समाजवादीका मतदाताले भाेट हाल्ने छन् ।

साथै, दस वर्षे द्वन्द्वकालको राजनीतिहुँदै प्रधानमन्त्रीसमेत बनिसकेका मानुषीका बुबा बाबुराम भट्टराईले प्रत्यक्ष राजनीतिमा नआउने बताएपछि भट्टराई परिवारको समग्र ध्यान र साथ यतिखेर मानुषीतिरै सोझिएको छ ।

यद्यपि, पहिलोपटक संसदीय चुनावमा होमिएकी मानुषीले व्यवहारिक राजनीतिको परीक्षामा कत्ति अंक पाउलिन् ? राजनीतिशास्त्रमा स्वर्णपदक जितेकी मानुषीले मैदानमा मतदाताकाे मन जित्न सक्छिन् कि सक्दिनन्, त्याे भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै