१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको समय सुरु हुनुअगाडि नै काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवारहरूले एकसरो मत मागिसकेका छन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार आकर्षण पोखरेलले त स्थानीय चुनावकै बेलादेखि भोट माग्न थालेको बताउँछन् । स्वतन्त्र र साना दलका उम्मेदवार जस्तै ठूला दलका उम्मेदवारहरूले पनि मत मागिरहेका छन् ।
तर निर्वाचन आचारसंहितालाई ध्यान दिनुपर्ने भएकाले उनीहरूले खुलेर प्रचारप्रसार गरेका छैनन्, अनौपचारिक घरदैलोमा सीमित छन् । यो क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट मानुषी यमी भट्टराई र नेकपा एमालेबाट श्यामप्रसाद घिमिरे उम्मेदवार छन् । मानुषी र श्याम घिमिरे दुवै घरदैलो अभियानमै छन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार रहेका पूर्वमन्त्री राजेन्द्र श्रेष्ठका समर्थकहरूले पनि मत मागिरहेका छन् । नागार्जुन नगरपालिका ३ का ६२ वर्षीय बुद्धिमान लामा, स्वतन्त्र उम्मेदवारले प्रचारप्रसार तीव्र पारेपछि ठूला दलहरू पनि दबावमा परेको बताउँछन् । ‘साना र स्वतन्त्र उम्मेदवार घरघर एकसरो आइभ्याए । ठूलालाई पनि साना र स्वतन्त्रको डर भए जस्तो छ’ लामा भन्छन्, ‘अहिले त ठूला दलका उम्मेदवारहरू पनि घरदैलोमा निस्किएका छन् ।’
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका चार वडा (१६, १७, १८ र २५), नागार्जुन नगरपालिकाको तीन वडा (१, २ र ३) र तारकेश्वर नगरपालिकाको तीन वडा (४, ५ र ६) पर्छ । काठमाडौं महानगरको वडानम्बर १६ सोह्रखुट्टे क्षेत्र हो । १७ क्षेत्रपाटी, १८ नरदेवी र २५ जनवहाल क्षेत्र पर्छ । यी क्षेत्रहरूमा रैथाने नेवार समुदायको बाहुल्य छ । स्थानीय ज्ञानबहादुर केसीका अनुसार, कोर सिटीमा करिब ६० प्रतिशत रैथाने र बाँकी अन्य जिल्लाबाट आएकाहरू बस्छन् ।
नागार्जुन र तारकेश्वरमा भने नुवाकोट, धादिङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, मकवानपुर लगायतबाट आएकाहरूको बसोबास छ भने वैदेशिक रोजगारीबाट फर्किएका र पूर्व प्रशासकहरू धेरै छन् ।
ब्रान्डले थिचिएकी मानुषी
सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी मानुषी मंगलबार घरदैलो अभियानमै भेटिइन् । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सीता पन्त कुँवर, एकीकृत समाजवादीका जिल्ला कमिटीका सदस्य ज्ञानबहादुर केसी सहितको टोलीमा उनी घरदैलो गरिरहेकी थिइन् । नागार्जुन–३ स्थित स्वस्तिका लामिछानेको घर पुगेपछि कुँवरले मानुषीलाई चिनाइन्, ‘उहाँ हाम्रो उम्मेदवार । डा।बाबुराम भट्टराईकी छोरी ।’
अर्थात् गठबन्धनका कार्यकर्ता मानुषीलाई पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईसँगै जोडेर मत मागिरहेका छन् । जबकि ३८ वर्षीया मानुषी काठमाडौं–१८ मै जन्मिएकी थिइन्, यहीं हुर्किएकी हुन् । तर मानुषीलाई बुवाकै ब्रान्डले थिचेको देखिन्छ ।
मानुषी भने आफ्नै परिचय बनाउने र जनतासँग जोडिएर काम गर्ने बताउने गरेकी छन् । स्थानीयको स्वागतपछि सम्बोधन गर्ने क्रममा मानुषीले भनिन्, ‘मलाई यस अगाडि जे–जसरी चिन्नुभएको भए पनि अब आफ्नै कामले चिनिन चाहन्छु । काम गर्नकै लागि यहाँहरूको सहयोग चाहियो ।’
आफ्नै कामले चिनिन चाहन्छु : मानुषी
मानुषीले चुनाव जितेपछि ‘सांसदसँग जनता’ कार्यक्रम चलाउने बताएकी छन् । ‘मतदातालाई कामबाट परिचय बनाउने प्रयासमा रहने विश्वस्त बनाइरहेकी छु’, अनलाइनखबरसँग मानुषीले भनिन् । मानुषीलाई बुवासँगै आमाको परिचयले पनि थिचेको छ । उनकी आमा हिसिला यमी यही क्षेत्रबाट जितेर मन्त्री भएकी थिइन् ।
मानुषी जसरी आफ्नै ब्रान्ड भनेर मतदाताको मन जित्न खोजिरहेकी छन्, उसैगरी गठबन्धनमा रहेका नेतारकार्यकर्ताको पनि मन जित्नुपर्नेछ । किनकि गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई हेर्दा माओवादी केन्द्रको भोटले मात्रै मानुषीलाई जित्न सम्भव छैन । अझ नेपाल समाजवादी पार्टी ९नेसपा०लाई मओवादी केन्द्रले आफ्नो चिह्न दिएपछि मानुषी यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार बनेकी हुन् । मानुषी भने सत्ता गठबन्धनको पूराका पूरा मत आफूले पाउनेमा विश्वस्त छिन् । अझ प्रतिनिधिसभा विघटनको निर्णयबाट रुष्ट एमाले कार्यकर्ताको समेत मत पाउने उनी बताउँछिन् ।
ब्रान्डिङ नभएका पूर्वप्रशासक घिमिरे
एमालेका उम्मेदवार श्याम घिमिरेलाई भने मानुषीको भन्दा ठीक उल्टो समस्या छ । २०३६ सालमा अनुरास्ववियुमार्फत राजनीतिक सक्रियता सुरु गरेका तारकेश्वर–३ जीतपुरका घिमिरे २०४३ सालमै जनपक्षीय उम्मेदवार बनेका थिए । पछिल्लो समय शिक्षक संगठन, किसान संगठन र जिफन्टमा काम गरे । ६८ वर्षीय घिमिरे एमाले पंक्तिमै राम्रोसँग चिनिन सकेको देखिंदैन । ‘उहाँ पुरानै मान्छे हो, नयाँ पुस्तालाई चिन्न अलिक गाह्रो भएको हुनसक्छ’ एमालेका एक नेता भन्छन्, ‘तर यही कारण मतमा कुनै प्रभाव पर्दैन ।’
गएको स्थानीय चुनावमा तारकेश्वर नगरपालिकाको मेयरका प्रत्यासी थिए, तर टिकट पाउन सकेनन् । तर यो पटक घिमिरेले प्रतिनिधिसभा सदस्यकै टिकट पाए । टिकट पाउनुमा पनि रोचक प्रसंग छ । जनता समाजवादी पार्टी ९जसपा०सँग चुनावी तालमेल गरेर यो क्षेत्र राजेन्द्र श्रेष्ठलाई छोड्ने मनसाय एमालेले बनाएको थियो । त्यसैले काठमाडौंका बाँकी ९ क्षेत्रको टिकट टुंग्याउँदा पनि एमालेले यो क्षेत्र खाली राखेको थियो । तर भागबण्डामा जसपाले यो क्षेत्र लिएन । यसपछि एमालेले घिमिरेलाई उम्मेदवार बनाएको हो ।
चुनाव जित्न केहीको चुनौती छैन : श्याम घिमिरे
घिमिरे आफ्नो व्यक्तिगत सम्बन्ध, पार्टी संगठन र अनुभवका आधारमा जित्ने दाबी गर्छन् । ‘काठमाडौं ७ एमालेले हारेको ठाउँ होइन, यसकारण कसैप्रति मेरो केही कमेन्ट छैन । चुनौती महसुस पनि छैन’ घिमिरेले अनलाइनखबरसँग भने ।
एमालेका बागी उम्मेदवार रामवीर मानन्धर
२०७४ को चुनावमा यो क्षेत्रबाट एमालेकै रामवीर मानन्धरले जितेका थिए । त्यसबेला घिमिरेले प्रचारप्रसारको नेतृत्व गरेका थिए । अहिले तिनै पूर्वमन्त्री मानन्धर बागी उम्मेदवार छन् । मानन्धरले काट्ने मत घिमिरेलाई चिन्ताको विषय हो ।
गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा यो क्षेत्रमा सबभन्दा ठूलो दल कांग्रेस हो । कांग्रेसले १४ हजार १६७ मत पाउँदा एमालेले १२ हजार २०२ मत ल्याएको थियो । एकीकृत समाजवादीले ३ हजार ८३९ मत पाएको छ । स्वतन्त्रले दुई हजार २०६, राप्रपाले दुई हजार २७, माओवादी केन्द्रले ५७६ र जसपाले १६२ मत पाएको छ । घिमिरेले भने मानुषीले गठबन्धनको सबै मत पाउने अवस्था नरहेकाले आफूले जित्ने दाबी गर्छन् ।






