२० पुष , काठमाडौं । फुटबलर क्रिष्टियानो रोनाल्डोले युरोपेली क्लबहरुले प्रस्ताव छाडेर साउदी आएका बताएका छन् । उनले युरोपमा आफ्नो काम पूरा भन्दै यस्तो बताएका हुन् ।
केही दिनअघि मात्र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता तोडेर साउदी अरबको क्लवमा अनुबन्ध भएका रोनाल्डोले उनले साउदीको स्थानी मिडियासँग भनेका छन् ‘मैले युरोपका शीर्ष क्लबहरुमा खेलेर सबैकुरा जितेको छु । अब नयाँ चुनौति स्वीकार गरी एसिया आएको हो ।’
उनका अनुसार युरोपसहित ब्राजिल, अष्ट्रेलिया र अमेरिकाबाट उनलाई प्रस्ताव आएको थियो । उनले भने, ‘म यसकारण यो क्लबमा आएँ कि मैले यहाँ वचन दिइसकेको थिएँ । त्यसैले साउदी आएको हुँ ।’
साउदीको क्लव अल नासरबाट रोनाल्डोले इतिहासमै सबैधन्दा धेरै पारिश्रमिक पाउनेछन् । सन् २०२५ सम्मका लागि गरिएको सम्झौताअनुसार उनले प्रति वर्ष २० करोड डलर पारिश्रमिक पाउनेछन् ।
साउदीमा आएपछि रोनाल्डोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भनेका छन्, ‘कसैलाई थाहा छैन तर आज म भन्दैछु । मलाई युरोपमै धेरै अवसर थियो । ब्राजिल, अस्ट्रेलिया, अमेरिका र पोर्चुगलकै पनि धेरै क्लबहरुले प्रस्ताव गरेका थिए ।’
कार्यक्रममा अल नासरका प्रमुख प्रशिक्षक रुडी गार्सियाले रोनाल्डोलाई अनुबन्ध गर्नु साउदी अरबका लागि ठूलो सफलता भएको बताए । उनले भने, ‘मैले आफ्नो जीवनमा देखेकामध्ये महान खेलाडी क्रिष्टियानो रोनाल्डोजस्तो खेलाडीलाई प्रशिक्षित गराउनु सहज काम हुनेछ । किनभने उनलाई केहि सिकाउनु पर्दैन बरु उनीसँग म सिक्नसक्छु ।’ मेरो लक्ष्य क्रिष्टियानोलाई खुसी राख्नु हुनेछ ।’







