Comments Add Comment

आयोगले प्रचण्ड र रवि लामिछानेलाई सोध्यो : प्रचारप्रसारमा टोपी प्रयोग किन गरेको ?

२२ कात्तिक , काठमाडौ । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्यका चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार रवि लामिछानेलाई चुनाव प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ।

अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हथौडाको सङ्केत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

यस्तै, ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने ब्यहोरा छापिएको टोपी प्रयोग गरेको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहितामा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ । प्रचण्ड, श्रेष्ठ र लामिछानेलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment