Comments Add Comment

Advertisment

SKIP THIS

दुई पटक सांसद निर्वाचित मानन्धरको स्वतन्त्र उम्मेदवारी र पार्टी फुटको अवस्थाले घिमिरेलाई सकस : गठबन्धनको मतको बल भट्टराईलाई सहज

२७ कात्तिक , काठमाडौ । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–७ मा २९ जनाले उम्मेदवारी दिएका छन् ।

गठबन्धनकी ३६ वर्षीया मानुषी यमी भट्टराई र एमालेबाट ६८ वर्षीय श्यामकुमार घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मानुषी र पूर्वकर्मचारी पृष्ठभूमिका घिमिरे संसदीय चुनावका नयाँ अनुहार हुन् ।

यस क्षेत्रका निर्वतमान सांसद एवं पूर्वसहरी विकास राज्यमन्त्री ५९ वर्षीय रामवीर मानन्धर र पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ६२ वर्षीय राजेन्द्र श्रेष्ठसमेत चुनावी प्रतिस्पर्धामा छन् ।

एमालेबाट बागी मानन्धर र जसपाबाट श्रेष्ठले भित्रभित्रै चुनावी अभियान चलाएको मतदाताहरूले बताए । १६ जना स्वतन्त्र उम्मेदवार समेत चुनावी दौडमा रहेकाले ६१ हजार २ सय ९१ मतदाताको जोड–घटाउ झनै पेचिलो बनेको स्थानीयबासी बताउँछन् । यहाँबाट लगातर दुई पटक सांसद निर्वाचित मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएको र पार्टी फुटको अवस्थाले घिमिरेलाई जित निकाल्न सकस हुन सक्ने विश्लेषकको अनुमान छ ।

आफ्नै जनमतका आधारमा मानुषी कमजोर उम्मेदवार हुन् । यद्यपी कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको मतको बल उनका लागि सहज बन्न सक्ने देखिन्छ ।

बाबु बाबुराम भट्टराई र आमा हिसिला यमीको जोडबलमा मानुषीले टिकट पाएको टिप्पणी हुँदै आएको छ । तर, उम्मेदवारीदेखि नै उनी क्षमतावान् र आसलाग्दो युवा व्यक्तित्व भएको चर्चा सामाजिक सञ्जालदेखि मतदाताबीच हुने गरेको छ । उनी २०६५ सालमा सर्वाधिक मतसहित त्रिवि कीर्तिपुर क्याम्पसको स्ववियु सचिव निर्वाचित भएकी थिइन् भने राजनीतिशास्त्रको स्नातकोत्तरमा ‘गोल्ड मेडिलिस्ट’ समेत हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधि सुशील भट्ट गठबन्धनको तागतमा मानुषीसहित प्रदेश उम्मेदवारको जित निश्चित रहेको दाबी गर्छन् ।

क्षेत्र नम्बर ७ मा आफ्नो प्रतिस्पर्धी नै नभएको एमाले उम्मेदवार घिमिरेले तर्क गरे । ‘२०४७ सालदेखि नै एमालेले जित्दै आएको छ, एमालेप्रतिको आकर्षण घटेको छैन, गठबन्धनले कुनै असर गर्दैन,’ उनले भने, ‘जनताले गठबन्धन र एमाले छाडेर अर्को कित्तामा लागेकालाई पत्याउँदैनन् ।’ घिमिरेले विविध संग्रहालयको विकास गर्ने, पुरातात्विक महत्वको सम्पदा, संस्कृति, संस्कारको संरक्षण गर्ने, पर्यटक पूर्वाधार बनाउने, संघ, प्रदेश र स्थानीय तहको समवन्य गरेर पूर्वाधार निर्माणलाई निरन्तरता दिने एजेन्डा अघि सारेका छन् ।

अर्कोतर्फ बागी उम्मेदवार मानन्धरले घिमिरेले ‘टिकट किनेको’ आरोप सार्वजनिक रूपमै लगाउँदै आएका छन् । यस क्षेत्रका अधुरा काम पूरा गर्न आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुपरेको उनको भनाइ छ । ‘हिजोदेखि गरेका कामले मलाई मतदाताले मत दिन्छन्, मेरो नैतिकता र इमानदारीले पनि जनताको माया पाउँछु,’ उनले भने, ‘यो मेरो लागि अन्तिम चुनाव हो ।’

काठमाडौं–७ मा २०७० को संविधानसभा चुनावमा मानन्धरले हिसला यमीलाई हराएका थिए भने र २०६४ मा यमीले मानन्धरलाई हराएकी थिइन् । आफु जन्मे हुर्केको ठाउँ, गठबन्धन र कार्यकर्ताको बलियो साथ रहेकाले जितका लागि अवस्था अनुकूल रहेको मानुषीले दाबी गरिन् । उनले गठबन्धनका तर्फबाट साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेर प्रचारलाई तिव्रता दिएकी छन् । ‘गठबन्धनबाहिरको मतसमेत मैले पाउने माहोल बन्दै गएको छ, स्वतन्त्र उम्मेदवारको समेत प्रतिनिधि म गर्न सक्छु,’ उनले थपिन्, ‘चुनाव जितेपछि पनि भेदभाव नगरी मिलेर काम गर्नुछ, सबैलाई ढुक्क हुन अपिल गरेको छु ।’ शिक्षा, स्वास्थ्य, सुशासन, भौतिक पूर्वाधार विकास, सम्पदा संरक्षण, युवा, खेलुकद, रोजगारी, कृषि पशुपालनको प्रवर्द्धनलगायत उनका चुनावी संकल्प रहेका छन् ।

अर्का उम्मेदवार श्रेष्ठ विगतका कामले चुनावमा आफ्नो जित सहज बन्ने दाबी गर्छन् । ‘ठूला पार्टी र गठबन्धन हुँदैमा चुनाव जितिन्छ भन्ने हुँदैन,’ उनले भने, ‘मैले २० वर्षअघि सुरु गरेका काम अहिले पनि अलपत्र छन्, त्यसलाई पूरा गर्न जनताले मौका दिनेछन् ।’ उनले विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य, सञ्चार, कानुन निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।

यो क्षेत्रमा राजकुमार कोइराला, हेमबहादुर ढुंगेल, प्रशन्नकुमार अर्याल, भरत तामाङ, लक्ष्मण गजुरेल, ईश्वर अर्याल, मञ्चु माया तामाङ, प्रकाश कुँवर, यादवलाल कायस्थ, लोकप्रसाद सिम्खडा, रवीन्द्रकुमार श्रेष्ठ, सुजनरत्न बज्राचार्य, रोजिना अवाले, किरण केसी स्वतन्त्र चुनाव लडेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राप्रापाका धुव्रविक्रम मल्ल, नेमकिपाका किरण महर्जन, हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोख्रेल, नेपालका लागि नेपाली पार्टीबाट राम नेपाली, राप्रपा नेपालका कुमार खाकी श्रेष्ठ, राष्ट्रिय जनमुक्तिका जुजुकाजी महर्जन, कांग्रेस बीपीबाट कमला भुसाल, नेपाल आमा पार्टीका कृष्णप्रसाद दवाडी, जनसमाजवादीका शैलेशराज श्रेष्ठ पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

काठमाडौं महानगरपालिका, तारकेश्वर र नागार्जुन नगरपालिकाका १० वटा वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । महानगरका १६, १७, १८, २५ वडाका म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोल, तारकेश्वर नगरपालिकाका ३, ४, ५ का तिनपिपले, गोलढुंगा, लोलाङ र नागार्जुन नगरपालिकाका १, २, ३ का रानीवन, ठूलोभर्‍याङ, गैरीगाउँ यस क्षेत्रमा पर्छन् । गत वैशाखको स्थानीय निर्वाचनको मतअनुसार सबैभन्दा ठूलो दल कांग्रेस हो । उसले १४ हजार १ सय ६७ मत पाएको छ ।

गठबन्धनमा सहभागी एकीकृत समाजवादीको ३ हजार ८ सय ३९ र माओवादीको ५ सय ७६ मत रहेको छ । एमालेले १२ हजार २ सय ८२ मत ल्याएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेस ६ वटा वडामा बिजयी हुँदा एमालेले ४ वडामा जित निकालेको थियो । स्थानीय तहको मतका आधारमा ६ हजार २ सय ३७ मतले सत्तागठबन्धन बलियो देखिए पनि २०७४ को प्रतिनिधि र प्रदेशसभाको मत परिणाम भने फरक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment