बढ्दो महँगीको चपेटमा विश्व : के छ नेपालको अवस्था ? -
Comments Add Comment

बढ्दो महँगीको चपेटमा विश्व : के छ नेपालको अवस्था ?

२९ कात्तिक , काठमाडौ । विश्वमा आर्थिक मन्दी सुरु भएको छ । यसको पुष्टि विश्वका चर्चित कम्पनीले थालेको कर्मचारी कटौतीबाट हुन्छ । अमेजनलेयही हप्तादेखि करिब १० हजार मानिसहरूलाई कर्पोरेट र टेक्नोलोजी रोजगारीबाट हटाउने योजना बनाएको छ । यो कम्पनीको इतिहासमै सबैभन्दा ठूलो रोजगार कटौती भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्यूयोर्क टाइम्सका अनुसार अमेजनले भोइस असिस्टेन्ट एलेक्सामा काम गर्ने, खुद्रा विभाग र मानव स्रोत व्यवस्थापन विभागमा काम गर्ने कर्मचारीहरु कटौती गर्दैछ ।

कर्मचारी कटौती गर्नेमा अमेजनमात्र होइन सूचना प्रविधि कम्पनी मेटाले पनि ११ हजार कर्मचारी कटौती गर्ने जनाएको छ । त्यस्तै सामाजिक सञ्जाल ट्वीटर आफ्नो स्वामित्वमा लिएपछि एलन मस्कले ट्वीटरमा कार्यरत आधाभन्दा बढी कर्मचारी कटौती गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि विश्व अर्थतन्त्र संकटोन्मुख भएको जनाएको छ । जी २० देशहरुले आयोजना गरेको कार्यक्रममा आईएमएफले युरोप क्षेत्रका आर्थिक सूचकहरु कमजोर हुँदै गएको र त्यसले अर्थतन्त्र थप अन्योल बनाएको जनाएको थियो ।

आईएमएफले अक्टोबर महिनामा विश्व आर्थिक वृद्धिदर २।९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर, उसले उक्त प्रक्षेपणलाई सच्याउँदै आर्थिक वृद्धिदर २।७ प्रतिशत हुने उल्लेख गरेको छ ।

आईएमएफलाई आधार मान्ने हो भने अहिले विश्वको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको छ । साथै विश्व अर्थतन्त्रको कमजोर वित्तीय सूचकहरुले थप संकट सृजना गरेको छ ।

आईएमएफले केही दिनअघि नेपालमा पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा पनि विश्व बढ्दो महँगीको चपेटामा परेको जनाएको थियो । नेपालका लागि आईएमएफका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले विश्व नै ब्याजदर वृद्धि र महँगीको चपेटामा परेको बताएकी थिइन् ।

यता विश्व बैंकले पनि ‘ग्लोबल रिसेसन’ (आर्थिक मन्दी) आउन सक्ने अनुमान पटक-पटक सार्वजनिक गर्दै आएको छ । कोरोनापछि राम्रो रिकभरी नहुँदै रुस र युक्रेन युद्धले पनि विश्व अर्थतन्त्र प्रभावित भएको अन्तर्राष्ट्रिय संघसंस्थाहरुले बताउँदै आएका छन् ।

चेपुवामा नेपाल

नेपालमा पनि आर्थिक मन्दीको असर देखिन थालेको छ । नेपाल आयातमुखी अर्थतन्त्र भएको देश हो । नेपालमा अहिले अर्थतन्त्रका सूचकहरु दबाबमै देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पुष्टि गर्छ ।

विदेशी मुद्रा सञ्चितीको दबाब हटेको छैन । सोधान्तर स्थितिको चाप पनि उस्तै छ । यो वर्ष नेपालको चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको (जीडीपी) ६.३ प्रतिशत रहने आईएमएफको अनुमान छ । चालु खाता देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर हो । यस्तो घाटा बढ्दा विदेशी मुद्रा सञ्चितीमा चाप पर्छ ।

बैकिङ प्रणालीमा पनि लगानीयोग्य रकमको अभाव भएको लामो समय भइसक्यो । जसले लगानी विस्तार हुन सकेको छैन । अहिले लगानी गर्न नसकेको असर अबको ५-६ महिनापछि देखिने अर्थविद् प्रा।डा। दिलनाथ दंगाल बताउँछन् ।

ब्याजदर वृद्धिको कारण आफ्नो उत्पादनमा भारी कटौती भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । अहिलेको ब्याजदरमा लगानी गरेर उद्योगधन्धा नाफामा जान नसक्ने प्रा.डा. दंगाल तर्क गर्छन् ।

अहिले कर्जाको ब्याजदर करिब १८ प्रतिशतको हाराहारीमा छ । निक्षेपको ब्याजदर पनि दोहोरो अंकमै छ । संसारभर नै अधिकांश केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् ।

खाद्यान्न र पेट्रोलियम पदार्थबाहेक अन्य सबै वस्तु तथा सेवाको व्यापारमा उल्लेख्य गिरावट आएको उद्योगी व्यवसायीहरुले पटक–पटक भन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment