१६ मंसिर , काठमाडौं । धनगढीमा ग्रेडरले कुल्चिएर बिहीबार पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भएको घटनामा आज बिहानदेखी प्रदर्शन भइरहेको छ ।
धनगढी–५ तारानगरकी साउद बिहीबार बिहान विद्यालय आउँदै गर्दा सोही बाटोमा हसनपुरको पिपलचौतारा नजिक ना१क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडर लेबलमा ठक्कर खादा उनको मृत्यु भएको थियो ।
ब्याक गर्ने क्रममा साइकलमा सवार साउद ग्रेडरमा ठोक्किन पुग्दा ग्रेड चालकले कुल्चिएर चेतनाको ज्यान लिएको भन्दै गल्तीबिना आफ्नो साथी गुमाउनु परेपछि पञ्चोदयका विद्यार्थी आन्दोलित बनेका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै बिहिबार देखी नै सडकमै टायर बालेर प्रदर्शन गरेको थियो । दिनभर डिभोटी पिपलचौतारा सडक रणमैदान जस्तै बन्यो।
प्रहरीले विद्यार्थीहरूमाथि बिहीबार दिनभरजसो बल प्रयोग गरिरह्यो। सरोकारवाला निकाय पनि खासै जिम्मेवार देखिएनन्। जसले गर्दा विद्यार्थीहरूको कलिलो बालमनोविज्ञान थप आक्रोशित बन्न पुग्यो। न्याय दिन माहोल शान्त पार्नुपर्नेमा आफ्नै उमेर नपुगेका साना साथीहरू गिरफ्तार हुन थालेपछि विद्यार्थीहरू थप आक्रोशित बने।
माहोल अनियन्त्रण बाहिर जाने देखेपछि कैलाली जिल्ला प्रकाशनले बिहीबार साँझदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेध आदेश जारी गर्यो। तर, विद्यार्थीको आक्रोशलाई प्रशासनले सम्बोधन गर्न सकेन। त्यसैले उनीहरू निषेध आदेशको अवेज्ञा गर्दै पुनः शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिए। बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकोमा यतिवेला विद्यार्थीहरू निषेधाज्ञा आदेश तोड्दै प्रदर्शन गरिरहेका छन्। र, उनीहरूमाथि पुनः प्रहरी दमन सुरु भएको छ।
प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। विद्यार्थीहरुले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन्।
प्रहरीले विद्यार्थीहरूलाई गिरफ्तार गर्नुका साथै लगाएको लुगा नै च्यातिनेगरी बल प्रयोग गरेकोमा चौतर्फी विरोध भइरहेको छ।
धनगढीकै विद्यार्थी जमुना साउदले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्। शान्तिपूर्ण रूपमा मृतक बालिकाको न्यायका लागि आन्दोलनरत विद्यार्थीको आन्दोलनरतमा प्रहरी दमन निन्दनीय भएको भन्दै उनले दुःख व्यक्त गरेकी छन्।



