१६ मंसिर , काठमाडौं । भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकिएर मतगणना पनि अन्तिम चरणमा पुगेको छ । विशेषगरी सत्ता घटकमा आवद्व दलहरु सरकार बनाउने जोडघटाउमा कारागारदेखि नेताको चोटा र कोठा धाउन थालेका छन । गम्भीर अपराधको मुद्वा लागेका ब्यक्तिहरुलाई एक त निर्वाचन आयोगले उमेदवारि सदर गर्नै नहुने , गरेपनी जनताद्वारा दन्डित हुनुपर्नेमा उल्टो जनप्रतिनिधि भएर अझ वरिष्ट नेताहरु सत्तास्वार्थको बाक्लो भेटघाटले के यही हो त प्रजातन्त्रको असली रुप ? आज आम मानिसमा “केजाती नि सकें दैलो नि देखें ” को आभास भएको छ नै ! यसैनुरुप नेकपा एमालेलाई गएको निर्वाचनबाट जनताको निर्णायक शक्तिको रूपमा पुन:एकपटक नेपाली जनताले नवीकरण गर्नु कुनै बाध्यता नभएर यो मुलुकको चौतर्फी विकास र समृद्धिको निम्ति नै हो । भारतीय विस्तारवाद, वैदेशिक एकाधिकार पुँजीवाद, साम्राज्यवाद र घरेलु प्रतिक्रियावादी शक्तिहरु एकठाउँमा उभिदाँ पनि नेकपा एमालेलाई नेपाली जनताले सम्मानपूर्वक जुन स्थान दिएको छ, त्यो लोकतन्त्रको मूल मर्म सामूहिकताको भावना अनुरूप नै रहेको छ ।
यस्तो विषम परिस्थितिमा पनि एमाले अनुकूल नतिजा हात पार्नुमा नेकपा एमालेका कर्मशील कार्यकर्ता, नेतृत्वपंक्ति र विशेषत: श्नद्धेय अध्यक्ष केपी शर्मा ओलीको दूरदृष्टि नै हो । त्यसैले केपी ओली ब्यक्ति हैन, विचार हो । कम्युनिष्ट विभाज्य सोच हैन, अविभाज्य सोच हो । उखान टुक्का हैन, अमृतवाणी हो । अनेकता हैन, एकताको प्रतिक हो । विदेशी शक्तिको दलाली र गुलामी हैन, स्वाधीनता र स्वाभिमानको धरोहर हो । अल्पमतको हैन, बहुमतको राजनेता हो । पराजयको सिपाही हैन, विजयीको प्रधानसेनापति हो । वैदेशिक एकाधिकार पुँजीवादका दास र भरौटे हैन, वीर नेपालीको पुत्र हो । विनाशको बीऊ हैन, विकासको जलधार हो ।
केपी ओलीलाई ज-जसले जे नामाकरण गरेपनि यो मुलुकको स्वतन्त्रता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वाभिमानका पक्षपोषक हुन् । हामी एमालेजन दुखमा बाँचौला तर हाम्रो राष्ट्रियता नदुखाउने प्रण गर्छौं । हामी फाटेको लुगा कपडा लगाउन तयार छौं तर हामी हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डता फाटेको देख्न सक्दैनौं । गरिब, किसान भएर बाँचौला तर विकासको नाउँमा अरूको पराधीन स्वीकार्दै नेपाली स्वाधीनता र स्वाभिमानमाथि एक इन्च पनि तलमाथि हुन दिदैँनौं । चुनावको माहोल सकिंदैमा जनजीविकाका सवालहरुलाई सडकदेखि सदनसम्म बुलन्द गर्न र राज्यको निर्णायक तहमा स्थापित गर्न नेकपा एमालेले पाएको अपार जनमतमाथि आघात पार्ने कुकार्यलाई निस्तेज गर्न सदैव जनहितको पक्षमा एक्लै भएपनि लड्न तयार छौं ।
नेकपा एमाले भन्ने पार्टी एउटा होला तर यसभित्र हजारौं हजार गरिब, किसान, मजदूर, सर्वहारा र श्नमजीवीवर्गका सन्तानहरु लामवद्धरुपमा श्नमजीवीवर्गको हितार्थ उभिएका छन् । बाहिर भित्र दुवैतिरबाट अवसरवादीहरु नदेखिए पनि हामीभित्र वर्गसंघर्षको क्रान्ति झल्किएकै छ । जनताको बहुदलीय जनवादभित्र वैज्ञानिक समाजवादको लामो यात्रा तय गर्न हामी प्यासी छौं । यो मुलुकबाट विपी कोइराला र प्रचन्डको आधार र अवशेषहरु क्रमश: भत्किदै र मेटिदैँ गएपनि जननेता मदन भण्डारीको विचार स्तम्भ जिवितै रहेको छ । एक मदन भण्डारीको हत्या भएपनि यहाँ हजारौं मदन भण्डारीको भ्रुण नेकपा एमालेभित्र रहेको छ । प्रचन्ड र माकुनेले कम्युनिष्टको नर्सरी ब्याडलाई पुँजीवादको विचारले सिंचित गरेपनि हामी एमालेजन श्नमजीवीवर्गको विचार र सिद्धान्तमा भारतीय विस्तारवाद, वैदेशिक एकाधिकार पुँजीवाद र साम्राज्यवादी शक्तिको फल फलाउन दिदैँनौं ।
नेपाली जनताले सुखी नेपाली र समृद्ध नेपालको लागि गरेको मतदान दुखी नेपाली र गरिब नेपाल बनाउँन हैन् । सार्वभौमसत्ता र राजकीयसत्ताको पक्षमा जाहेर जनमत भारतीय विस्तारवादको पोल्टा भर्न दिन्नौं । प्रतिक्रियावादी शक्तिको दुखकष्ट झेलेर श्नमजीवीवर्गको नेतृत्व गर्ने नेकपा एमालेलाई गरेको मतदानको मूल्य नेकपा एमाले पंक्तिमा उभिएका सम्पूर्ण देशप्रेमी, न्यायप्रेमी र विकासप्रेमी जनताहरुले कहिल्यै भूल्ने छैन् र भूल्न दिदैँनौं । यो हाम्रो प्रण हो । आऊ, हामीसँगै मिलेर यो मुलुकको विकास गरौं । यो मुलुक हाम्रै हो । अरूको मुख ताक्न छाडेर हाम्रै सीप र क्षमताले समाजको विकास र समृद्धिको शुभारम्भ गरौं । प्राप्त जनमतको कदर गरौं, अनादर नगरौं !!







