२५ मंसिर , काठमाडौ । डिफेन्डिङ च्याम्पियन फ्रान्सले क्वाटरफाइनलमा शनिबार प्रतिस्पर्धा गर्दा सुपर स्टार केलियन एमबाप्पेको भेट युवा जोसले भरिएको इंग्ल्यान्डको आक्रामक टोलीसँग हुनेछ ।
युरोपका यी दुई शक्तिशाली राष्ट्र ३२ किलोमिटर फरकमा छन् । यिनीहरू प्रमुख प्रतियोगितामा यसअघि दुई पटकमात्र आमनेसामने भएका छन् । अझ रोचक के भने यी दुवै सन् १९८२ यता ठूलो प्रतियोगितामा भेट भएका छैनन् ।
चार वर्षअघि रुसमा दोस्रो पटक विश्वकप जितेको फ्रान्सले अन्तिम १६ मा पोल्यान्डलाई पराजित गर्दा पेरिस सेन्ट जर्मेनका फरवार्ड एमवाप्पेले २ तथा ओलिभर जिरुडले १ गोल गरेका थिए । कमजोर सुरुआत गरे पनि इंग्ल्यान्डले सेनेगलको चुनौती सजिलै ३–० ले पाखा लगाउँदै फ्रान्ससँगको भेट पक्का गरेको हो ।
२३ वर्षे एमबाप्पे कतार विश्वकपका उच्च गोलकर्ता हुन् । उनले ४ खेलमा ५ गोल गरिसकेका छन् । पोल्यान्डविरुद्धको खेलमा गोल गर्दै जिरुड फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । अल बायत रंगशालामा हुने खेलमा निकै उच्च लयमा रहेका एमबाप्पेलाई इंग्ल्यान्डले कसरी रोक्न सक्छ रु मुख्य प्रश्न यही बनेको छ ।
इंग्ल्यान्डका तीव्र राइट ब्याक केएल वाल्करले सम्भवतः एमबाप्पेलाई रोक्ने जिम्मेवारी पाउनेछन् । तर इंग्ल्यान्डको टोली फ्रान्सका आक्रामक उनीमात्र होइनन् भन्नेमा स्पष्ट छ । ‘मलाई थाहा छ उनी विश्वस्तरीय खेलाडी हुन्, तर हामी टेनिस खेल्न लागिरहेका छैनौं । यो एकल खेलिने खेल होइन, यो टिम गेम हो,’ म्यानचेस्टर सिटीका रक्षक वाल्करले भने, ‘उनी महान् खेलाडी हुन्, त्यसैले सबै प्रश्न उनीसँग सम्बन्धित आएका छन् । तर जिरुडलाई पनि बिर्सनुहुन्न, उनले लगातार जस्तो गोल गर्दै आएका छन् । मेरा लागि ओसमन डेम्बेले अन्य विंगरजस्तै राम्रा छन् ।’
घाइतेद्वय एनगोलो कान्टे र पाउल पोग्बाको अनुपस्थितिमा पनि फ्रान्सका मिडफिल्डरले राम्रो प्रभाव देखाएका छन् । एन्टोनी ग्रिजमनले प्रभावशाली देखिएका छन् । त्यसका बावजुद पनि डिडियर डेसच्याम्पको टोलीमा राइट ब्याकको भूमिका सम्भावित कमजोर रूपमा देखिएको छ । जुल्स कोउन्डे र थियो हर्नान्डेज जसले फ्रान्सको राइट ब्याकको भूमिका निभाए पनि मार्कस रासफोर्ड, फिल फोडेन, बुकायो साका, ज्याक ग्रेलिस, रहिम स्टर्लिङ जस्ता विंगरको सामना गर्नुपर्ने हुन्छ । इंग्ल्यान्ड यस प्रतियोगितामा सर्वाधिक १२ गोल गर्ने टोली हो, त्यसले पनि टोलीको अग्रपंक्तिको शक्ति प्रमाणित गर्छ । इंग्ल्यान्डसँग बेन्चमा पनि राम्रा विकल्पहरू छन् ।
तर, इंग्ल्यान्डका व्यवस्थापक गारेथ साउथगेटमाथि प्रमुख खेलमा प्रदर्शन देखाउन नसकेको भनेर धेरै प्रश्न पोखिएका छन् । चार वर्षअघि विश्वकप सेमिफाइनलमा पराजित इंग्ल्यान्ड अघिल्लो वर्ष युरो २०२० को फाइनलमा इटालीसँग पेनाल्टी शुटआउटमा हारेको थियो ।
इतिहासतिर लम्कँदै मोरक्को
पोर्चुगलमाथि शनिबार हुने खेलमा विजय हात पारेमा मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने छ । तर, पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध पछिल्लो खेलमा ६ गोल गरेको मोरक्कोले बिर्सनुहुन्न । बेल्जियम र क्यानाडामाथि विजय हात पार्दै समूह ‘एफ’ को विजेता बनेको वालिद रेग्रागुइको मोरक्कोले अन्तिम १६ को प्रतिस्पर्धामा स्पेनलाई पेनाल्टी शुटआउटबाट घर फर्काएको थियो । अगस्टमा भाहिद हलिहोड्जिचलाई बर्खास्त गरेपछि रेग्रागुइको प्रशिक्षणमा मोरक्को ७ खेलमा अपराजित छ । त्यसक्रममा टोलीले १ गोलमात्र खर्चेको छ, त्यो पनि क्यानडासँग आत्मघाती गोल थियो ।
क्यामरुन ९१९९००, सेनेगल ९२००२०, घाना ९२०१०० पछि क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी टोली हो । अरबको यस टोलीले कतारमा भएका खेलहरूमा ठूलो समर्थन पाएको थियो । पोर्चुगलविरुद्ध अल थुमामा रंगशालामा हुने खेलमा पनि यही समर्थन पाउने अपेक्षा गरिएको छ ।
स्पेनले मोरक्कोविरुद्ध खासै अवसरको सिर्जना गर्न सकेको थिएन । तर पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध आफ्नो आक्रामक शैली देखाइसकेको छ । क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको खेलमा पोर्चुगलले स्विस टोलीविरुद्ध ६–१ को विजय हात पार्दा गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए ।
पोर्चुगल सन् २००६ पछि पहिलो पटक विश्वकप क्वाटरफाइनल खेलिरहेको छ । इंग्ल्यान्डले पेनाल्टी शुटआउटमा पराजित गरेको टोली सेमिफाइनल पुग्ने भिडन्तमा फ्रान्ससँग पराजित भएको थियो ।






