१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र नेपाल टेलिभिजन इटहरी बिच प्रहरी कार्यक्रम प्रसारण गर्न सम्झौता भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी र नेपाल टेलिभिजन इटहरीका प्रमुख गजुरधन राई बिच प्रहरी कार्यक्रम प्रसारणको लागि दुबै पक्षको सम्झौता गरिएको हो ।

गत मंगलबार नेपाल टेलिभिजन कार्यालय इटहरीको सभाहलमा भएको एक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले उत्पादन गरेको प्रहरी कार्यक्रम साप्ताहिकरुपमा प्रत्येक हप्ताको शुक्रबार साँझ ६ बजे निःशुल्क प्रसारण गर्ने सहमति भएको हो ।
सम्झौता कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख गिरीले नेपाल टेलिभिजन इटहरी च्यानलबाट प्रसारण भएको प्रहरी कार्यक्रमले नेपाल प्रहरी र आम नागरिक बीचको सम्बन्धलाई सुदृढ बनाउनुका साथै आम नागरिकमा चेतना फैल्याई शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न, अपराध रोकथाम नियन्त्रण गर्न र अपराध अनुसन्धान सम्बन्धी सूचना प्रवाह गर्न थप प्रभावकारी भुमिका रहने बताउनु भयो ।








