पार्टीलाई साधन मात्रै ठान्ने बाबुरामको ७ वर्षमा ५ पार्टी -
Comments Add Comment

पार्टीलाई साधन मात्रै ठान्ने बाबुरामको ७ वर्षमा ५ पार्टी

२४ पुष , काठमाडौं । कम्युनिष्ट आन्दोलनबाट उदाएर गैरकम्युनिस्ट बनेका डाक्टर बाबुराम भट्टराई राजनीतिक दललाई साध्य नभएर साधन मात्रै ठान्छन् ।

पछिल्लो पटक भट्टराई गठित नेपाल समाजवादी पार्टी अन्तरगतको राजनीतिक समितिको प्रथम बैठक आइतबार बस्यो । उक्त बैठकमा भट्टराईले ११ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमा भनेका छन्– ‘पार्टी साध्य नभएर साधन मात्रै हो ।’

भट्टराईले पार्टीलाई साधन मात्र भने पनि पछिल्लो ७ वर्षमा मात्र बाबुरामले ५ वटा पार्टी चहारेका छन् । नयाँ शक्ति पार्टी र पछिल्लो नेपाल समाजवादी पार्टी भट्टराई आफैले बनाएका हुन् ।

माओवादी परित्याग गर्दै आफू कम्युनिष्ट नभएको घोषणा गरेका भट्टराईले २०७३ जेठ ३१ गते नयाँ शक्ति पार्टी स्थापना गरेका थिए । तीन वर्षपछि अर्थात २०७६ वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गर्दै समाजवादी पार्टी निर्माण गरे ।

समाजवादी निर्माण गरेको एक वर्ष नपुग्दै २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकता गर्दै जनता समाजवादी पार्टी, नेपाल बनाए । उक्त पार्टीमा रहन नसकेका भट्टराईले २०७९ साउनमा नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।

माओवादी परित्यागको ७ वर्षमा बाबुरामले उपलब्धि केही गर्न सकेनन् । बरु, माओवादी हुँदा बाबुरामले आर्जन गरेका शक्ति एकएक गर्दै क्षयिकरण हुँदै गएको छ । उनले समाजवादको कुरा गरेता पनि समाजवादसम्मको यात्राका लागि सैद्धान्तिक वैचारिक रुपमा देखिने र मनन गर्न सकिने गरी केही गर्न सकेनन् ।

सात वर्षको अवधिमा पार्टी गठन र पुनर्गठनको शृङ्खला तीव्र देखिएको बाबुरामले स्वीकार गरेका छन् । उनी लेख्छन्– ‘सरसर्ती हेर्दा छोटो समयमा पार्टी गठन र पुनर्गठनको शृङ्खला तीव्र देखिनसक्छ । तर नयाँ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्मको विचार, राजनीति र एजेण्डा आधारभूत रुपमा उही नै रहेको छ ।’

बाबुरामले नयाँ पार्टी गठनका क्रमलाई स्वार्थ र लाभको चाहनामा नभएको लेखेका छन् । त्यति मात्र नभएर नयाँ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्म जति पनि पार्टी गठन, पुनर्गठनका प्रयासहरू भए ती कुनै निजी स्वार्थ र लाभका लागि थिएन भनेका छन् । ती सबै युगीन आवश्यकता र जिम्मेवारीबोधको भावनाले ओतप्रोत रहेको उनको तर्क छ । तर, न त युगीन आवश्यकता पूरा गर्न सके न त जिम्मेवारीबोध नै गरे ।

त्यति मात्र नभएर बाबुरामले राजनीतिलाई विचार सहितको मिसन भनेका छन् । उनी लेख्छन्– ‘राजनीतिक पार्टी भनेको अन्ततः विचारस हितको मिसन हो । तसर्थ, पार्टीको नाम र संख्याभन्दा पार्टीले अवलम्बन गरेको विचार, राजनीति, एजेण्डा के छ भनेर हेर्नु पर्दछ ।’

जनयुद्धका क्रममा बाबुरामका लागि राजनीति मिसन नै थियो । जनयुद्धले मिसनका रुपमा अघि सारेका एजेण्डाहरू स्थापित पनि भए । यस अर्थमा बाबुराम सम्मिलित राजनीतिक दलको मिसन पूरा भएको मानियो । तर, माओवादी छोडेर बाबुरामले तय गरेको मिसन अलपत्र छ ।

बाबुराम पछिल्लो दल गठनसम्म आइपुग्दा पूर्ण रुपमा विक्षत भएका छन् । उनले पार्टी गठन गर्नुअगावै माओवादीमा विलय हुने सोच बनाइसकेका छन् । जसपासँगको विभाजनपछि दर्जनौ पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवाद गरेका छन् ।

प्रचण्डसँगको संवादसँगै नयाँ पार्टी गठन गरेका बाबुरामले ‘समाजवादी केन्द्र’ निर्माणको सपना देखेका छन् । यसै आधारमा एकताका प्रयास पनि गरिरहेका छन् । तर, बाबुरामको समाजवादी केन्द्र सपना पनि सहज छैन ।

बाबुरामले भने जस्तै समाजवादी केन्द्र नबनेको अवस्थामा माओवादीमा विलयको विकल्प नरहेको विश्लेषण हुने गरेको छ । उनी, पुन कम्युनिष्ट हुने बाटो मात्र खोजिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds