२९ पुष , काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम अलपत्र पार्ने जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई नरहेको बताएका हुन् ।
उनले भने, ‘अब कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान सरकारले गर्छ । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई छैन ।’
उपप्रधानमन्त्री श्रेष्ठले एक प्रश्नमा भने, ‘म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ । निरपेक्ष ढंगले काम गर्छुु । जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ ।’
राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग पनि सम्झौता नगर्ने उनको भनाइ छ । उनले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु समेत पैदलयात्रुमैत्री बनाउने अभियानमा सरकार लागिसकेको बताए । सडक कम भन्दा कम खन्न, सडक खन्दा र भत्काइएका सडक तत्काल मर्मसम्भार गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘हामीले कति खाल्डोहरु छन् भनेर नियालिरहेका छौं । राज्यको दायित्व सबै स्थानीय सरकारदेखि सबै सरकार मिलेर एकीकृत ढंगले काम गर्नुछ ।’