२१ माघ , काठमाडौ । गुल्मीमा एक भारतीय नागरिकको हत्या गरेको आरोपमा दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षीय शेख आलिनाम हत्या गरेको आरोपमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । यही गएको १९ माघमा भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमानास्थित कालीगण्डकी नदी किनारमा भेटिएको थियो ।
टाउको र निधारमा गहिरो चोट लागेकाले उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुबैले हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत गुल्मीसँग अनुमति लिने प्रहरीले जनाएको छ ।


