११ फागुन , काठमाडौ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसँगै सवारी साधनको गतिको सीमा तोकिएको छ ।
उपत्यकाभित्रका चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकको समेत गति सीमा तोकिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौंको रिङरोडमा ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा धेरै चलाएको खण्डमा कारबाही हुने भएको छ ।

यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा समेत प्रतिघन्टा ५० किलोमिटरको गति तोकिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि यस्तो नियम कार्यान्वयनमा ल्याएको ट्राफिक प्रहरीको भनाइ छ ।
तोकिएको भन्दा बढीमा गतिमा सवारी चलाउनेलाई ऐन बमोजिम कारबाही गरिने समेत जनाइएको छ ।



