२० फागुन , काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको जिकिर गरे । आज (शनिबार) भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवी परिषद केन्द्रिय समितिको बैठकमा बोल्दै उनले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरिरहेको बताउँदै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीविहरुलाई आग्रह गरे ।
‘दुर्भाग्यको कुुरा देशका लागि के हो भने एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ’ ओलीले भने, ‘यथार्थता त यही हो नि । किनभने सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरु, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरु सत्ता कब्जा गर्न सफल छन अहिले पनि । जनता अल्मल्याउन, चटके कुरा गर्न सफल छन अहिले पनि । जनतालाई भ्रममा पार्न सफल छन अहिले पनि । सचेत हुन नदिन, जनताको चेतनालाई रोक्न सफल छन अहिले पनि । तसर्थ बौद्धिक जगतको काम के हो भन्दा यो जनतालाई सचेत हुन नदिने जुन प्रयास छ, त्यसिवरूद्ध बोल्नु जरूरी छ ।’
अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले विगुल फुक्नु जरुरी रहेको बताए । उनले भने, ‘जनतालाई भ्रममा पार्ने, अल्मल्याउने, दिग्भ्रमित गर्ने र पथभ्रष्ट बनाउने, सही बाटोबाट अगाडि बढन नदिने जुन शक्तिहरु छन् । तिनको त्यो भ्रमजालबाट जनतालाई मुक्त गर्नु पर्दछ ।
अहिले बौद्धिक जगतले फुक्नु पर्ने विगुल यही हो कि जनतालाई भ्रमबाट कसरी मुक्त पार्ने रु गलतलाई गलत देख्न सक्ने बनाउने, उहीलाई सही देख्न सक्ने बनाउने । गलत बाटो जान्न भन्न लगाउने, सही बाटो जान्छु भन्ने बनाउने । बौद्धिक क्षेत्रको काम यही हो । संगोष्ठी गर्नुस्, बोल्नुस् । लेख्नुस् । त्यसका निष्कर्षहरु प्रसारण गर्नुस् ।’
इतिहास निर्माणका प्रेरक शक्ति हिजो पनि आज पनि भोली पनि जनता नै रहेको उनको भनाइ थियो । ‘जनतालाई अलमल्याउने, तर्साउने, धम्क्याउने अथवा उनीहरुको चेतना वा मनोबल कुनै हिसावले परिवर्तन वा रुपान्तरणतर्फ जान नदिने तत्वलाई परास्त गर्नुपर्छ,’ ओलीले भने ।
अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको कुरा पटकपटक दोहोर्याए ।







