२५ फागुन, काठमाडौ । उपत्यका ट्राफिक प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट हराएका २३ वटा सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । उपत्यका ट्राफिक कार्यालयमा आज आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका २० वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीहरुलाई ट्राफिक प्रहरी उपरीक्षक अवि नारायणले काफ्लेले हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निबेदन पश्वात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसपी काफ्लेले बताउनुभयो ।

उहाँले मोटरासाईकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सुचना संकलन भैरहेको छ, मोटरसाईकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको बताउनुभयो ।
थप प्रष्ट पार्दै एसपी काफ्लेले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयो । उहाँले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो । उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्ये पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ । पल्सर बाहेक पछिल्लो समय स्कुटरहरु समेत हराएको भनी निबेदन पर्ने क्रम बढेको ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले मोटरसाईकल चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरेको छ ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन उपत्यका ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।






