Comments Add Comment

Advertisment

SKIP THIS

धुर्मुसको रोदनप्रति टिप्पणी : घर र ‘सेन्टी भाइरस’ फिल्म बनाए, तर स्पष्ट हिसाब देखाएनन् (भिडियो)

८ चैत , काठमाडौ । चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही महिनामै निर्माण अवरुद्ध हुन पुग्यो ।

रंगशालाका लागि करोडौं रकम खर्च भइसकेको थियो । हजारौं दाताहरुले सहयोग पनि गरेका थिए । भरतपुर महानगरदेखि बागमती प्रदेश सरकारले पनि सहयोग गरेको थियो । संघीय सरकारले पनि धुर्मुस सुन्तली फाउन्डेसनलाई स्रोतको अभाव नहुने भनेर आश्वास्त पारेको थियो । तर एकाएक फाउन्डेसनले रंगशालाको चावी भरतपुर महानगरलाई बुझाएर काम अलपत्र छाडिदियो ।

यो प्रकरणको भित्री कुरा खासै बाहिरिएनन् । बाहिरिएका मामिलामा पनि मानिसहरुले धेरै चासो दिएनन् ।

धेरैले भनिरहे – ‘रंगशाला नबनाउने हो भने भएको खर्चको हिसाब धुर्मुस सुन्तलीले देखाउन् । बाँकी काम सरकारले गर्छ ।’ तर अध्यक्ष सिताराम कट्टेल झन्डै दुई वर्ष मौन रहे ।

प्रश्न त फेरि पनि उठ्ने नै भयो, आखिर धुर्मुस किन बोल्दैनन् रु एक व्यक्तिले उनीविरुद्ध अख्तियारमै उजुरी पनि दर्ता गराएका छन् । अहिले क्रिकेट रंगशालाको बहस पुनः सतहमा आउँदा धुर्मुसले आफ्ना कुरा भिडियोमार्फत राखेका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको माग गर्दै चर्को आवाज उठिरहेका बेला चितवनको रामपुरमा निर्माण अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सरकारसँग रंगशालाको स्वामीत्व लिइ दिन आग्रह गरेका छन् ।

रंगशाला नै पुगेर अध्यक्ष कट्टेलले एक भिडियो मार्फत रंगशालाको स्वामीत्व लिइ दिन, बाँकी काम पूरा गर्न बजेट निकासा गरि आफूले दुई वर्षदेखि मानसिक यातना भोगिरहेकोले त्यसबाट मुक्ति दिन उनले सरकारसँग अनुरोध गरेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दुईवर्षदेखि रोकिएको छ ।

स्पष्ट हिसाब देखाएनन्

फाउन्डेसनको दावीअनुसार दाता र सरकारी निकाले कबोल गरेबमोजिम बजेट निकासा नगरेका कारण रंगशालाको काम अलपत्र परेको हो ।

अध्यक्ष कट्टलेले १८ करोडभन्दा बढी मूल्य बराबरका निर्माण सामाग्री उधारोमा ल्याएर रंगशाला निर्माण गरिएको थियो । सो रकमसमेत तिर्न फाउन्डेसनसँग स्रोत नभएपछि रंगशाला निर्माण रोकिएको हो ।

लामो समय प्रतिक्रियाविहीन भएर बसेका धुर्मुसले रंगशालाबारे आफ्नो भनाइ सार्वजनिक गरे लगत्तै रंगशालाको मामिला फेरि चर्चाको विषय बनेको छ ।

रंगशाला निर्माणमा भएको अवरोध र गहिरिएको आर्थिक संकटबारे धुर्मुसले आफ्नो भनाइ राखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाली जनताले चन्दा संकलन गरेर दिएको रकम बालुवामा पानी सरह हुन नहुने भन्ने चिन्ता केहीले गरेका छन् ।

कतिपयले खेतीयोग्य जमिन मासेको, रंगशाला बनाउने भनेर उठाएको रकमबाट धुर्मुस सुन्तलीले घर बनाएको, आर्थिक संकटमा फसेको पनि भन्ने तर ‘सेन्टी भाइरस’ भन्ने फिल्म पनि बनाउने, हिसाब पारदर्शी नगरेको, जनताको प्रश्नको सामना गर्न छाडेर लुकेर बसेको जस्ता आरोपयुक्त कमेन्ट पनि गरिएका छन् ।

केहीले भने राज्यले नआँटेको काममा धुर्मुस सुन्तलीले आँट गरेको पनि भनेका छन् ।

धुर्मुसले आफ्नो सफाईमा दोहोर्याएर राज्यकै निकाले लेखा परिक्षण गरेको, भौतिक प्रगति मूल्यांकन पनि गरिएको र कतै पनि कैफियत नभेटिएको उल्लेख गरेका छन् ।

उनले सरकारी निकायले नै विभिन्न परिक्षण प्रतिवेदनहरु अल्झाएको, आफूविरुद्ध अख्तियारमा उजुरी हाल्ने व्यक्तिले नै रंगशालालाई बुझाउनु पर्ने २ लाख २० हजार नबुझाएको, राज्यका निकायले कबोलेको रकम नदिँदा काम अवरुद्ध भएको बताएका छन् ।

उनले सरकारले रंगशालाको स्वामीत्व लिएर काम सुरु गरेमा दुई महिनाभित्रैमा क्रिकेट प्रतियोगिता गराउन मिल्ने गरी मैदान तयार भएको दावी गरेका छन् ।

गौतम बुद्ध क्रिकेट रंगशालाको स्वामीत्व लिइ दिन धुर्मुस सुन्तली फाउन्डेसनले पटक पटक आग्रह गर्दै आएको छ । तर सरकारले यसबारे ठोस निर्णय गरिसकेको छैन । फाउन्डेसनमाथि उधारो र ऋणको भार करिब १८ करोड छ ।

यो रकम तिर्न मन्त्रिपरिषदकै निर्णय चाहिन्छ । हालसम्म सरकारले यसबारे कुनै निर्णय गरिसकेको छैन । तर भरतपुर महानगरकी मेयर रेणु दाहालले रंगशालाको स्वामीत्व महानगरले लिने बताएकी थिइन् ।

त्रिवि मैदानको बिकल्प अर्को बन्न सकेन

अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन हालसम्मका लागि त्रिवि क्रिकेट मैदानको विकल्प खास देखिएको छैन ।

आइसिसी विश्वकप क्रिकेट लिग टु मा नेपालले जित हाँसिल गरेपछि यो मैदानमा फ्लड लाइट जडान गर्न प्रधानमन्त्रीले निर्देशन दिए, त्यसअघि एउटा लाइट जडान गर्ने विषयमा पनि सरकारी चासो थिएन ।

काठमाडौंकै मूलपानीमा रहेको रंगशालाको काम पनि दुई दशकदेखि अलपत्र अवस्थामा छ । काठमाडौं उपत्यकाबाहेक पोखरा, दाङको बेलझुन्डी, इटहरी र नेपालगन्ज र भैरहवामा क्रिकेट मैदान त छन । तर, ती मैदानमा अन्तराष्ट्रिय स्तरको भौतिक पूर्वाधारको कमी छ  । चितवन र धनगढीमा रंगशाला निर्माणको काम थालिए पनि अलपत्र छन ।

खेल जिते बक्सिस जसरी नगद बाँडिन्छ, हार्दा खेलाडीतिर फर्केर पनि हेरिँदैन

खेल जित्दा खेलाडीहरुलाई विभिन्न तहका सरकारहरुले नगद उपहारको घोषणा गर्छन् । गोजीकै झिकेर बाँडे झै बक्सिस शैलीमा खेलाडीलाई नगद बाँड्ने प्रतिस्पर्धा चल्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका सबै सदस्य खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका छन ।

यस्तै बागमती प्रदेशले सबै खेलाडीलाई नगद एक लाखसहित सम्मान गर्ने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीका सदस्य आरिफ शेख, गुल्सन झालाई जनही दुई–दुई लाख दिने घोषणा गरेका छन ।

वीरगन्ज महानगरपालिकाले पनि आसिफ शेख र आरिफलाई प्रोत्साहनस्वरूप एक–एक थान मोटरसाइकल प्रदान गर्ने आश्वासन दिएका छन ।

खेल जित्दा खेलाडीलाई नगद पुरस्कारको घोषणा हुने गर्छ । तर खेल हार्दा खेलाडीको खेल किन खस्कियो रु भनेर थप्नु पर्ने लगानीका सम्बन्धमा कुनै पनि सरकारले वास्ता गर्दैनन् ।

(भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै