Comments Add Comment

Advertisment

SKIP THIS

को बन्ला नयाँ आईजीपी ?

९ चैत , काठमाडौ । नेपाल सरकारको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक बन्ने छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा पदोन्नति भएका थिए ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति भएका एआईजीबाटै बढुवा गर्नुपर्ने भएकाले अबको दुई दिनपछि नै पाँच एआईजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्त्वपूर्ण अवसर प्राप्त गर्दै छन् ।

काम गर्न सक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्न सक्ने, नेतृत्व दिन सक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आईजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्व प्रहरी अधिकारी बताउँछन् ।

‘मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ’, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भने, ‘सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई ।’ पछिल्लो समयमा गृह मन्त्रालयले सरुवा बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ ।

सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आईजीपी बनाउन सक्ने देखिएको प्रहरी अधिकृतहरू बताउँछन् । सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो ।

प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिन सक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्न सक्ने व्यक्तिलाई आईजीपी बनाउन सक्ने उल्लेख छ ।

यही चैत १० मा प्रहरी महानिरीक्षक ९आईजीपी० धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआइजी पनि अनिवार्य अवकाशमा जाँदै छन् । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी अवकाशमा जाने छन् ।

हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनः रिक्त हुन्छ ।

हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआईजीमा डीआईजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्याअवधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्मको रहनेछ ।

यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्को आलोचनासमेत हुने गरेको थियो । पूर्व प्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउँछन् ।

गृह मन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति भएका एआईजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ ।

एआईजीमा पदोन्नति भएका किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वोच्च ९महानिरीक्षक० पदको प्रतिस्पर्धी बन्ने महिला हुन् । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन् ।

बज्राचार्यसँगै डीआईजीमा बढुवा भएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि परेकाले उनी महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रूपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment