Comments Add Comment

Advertisment

SKIP THIS

विमानस्थलका कर्मचारी नै चोरी धन्दामा !

१ वैशाख , काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने कर्मचारीले गोजी भएका पोशाक लगाउन नपाउने भएका छन् ।

यात्रुका लगेजहरु फुटेको अवस्थामा फेला परेको, सामान नै हराउने गरेको भन्दै जन गुनासो बढेपछि विमानस्थलमा कार्यरत नेपाल वायु सेवा निगमका कर्मचारीका लागि यस्तो व्यवस्था गरिएको हो ।

हवाई मार्गको प्रयोग पछिल्लो समय सहज र सुलभ बन्दै गएको छ । आन्तरिकतर्फको हवाई यात्रुको चाप जसरी बढ्दै गएको छ, त्यसरी नै बाह्यतर्फको यात्रुको संख्या पनि बढ्दो क्रममा छ । रोजगारी, भ्रमण, अध्ययन लगायतका भिसामा विदेशबाट नेपाल फर्किने यात्रु र नेपाल भ्रमण तथा अन्य प्रयोजनका लागि नेपाल आउने विदेशी पर्यटकहरु आफ्नो सामानको सुरक्षा पहिलो प्राथमिकतामा राख्ने गर्छन् । विदेशमा कमाई गरेर फर्किएका जोकोहिलाई झिटी गुन्टा प्राथमिकतामा पर्नु स्वभाविक पनि हो ।

यसरी नै विभिन्न प्रयोजनमा नेपाल फर्किने यात्रुहरुको सामानको सुरक्षा गर्नु विमान सेवा सञ्चालकको दायित्व पनि हो । तर, पछिल्लो समय नेपाल वायु सेवा निगमका कर्मचारीहरुले लगेज फुटाउनेदेखि सामान नै चोरी हुने गरेको गुनासो बढ्न थालेको छ । यहि विषय सार्वजनिक हुन थालेपछि भने निगमले कर्मचारीलाई गोजी भएको कपडा नै लगाउन नदिने निर्णय गर्नुपरेको छ ।

यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक लगाएको छ । निगमले लगेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन लगाइएको पनि जनाएको छ। साथै लगेजलाई वर्षातको पानीबाट जोगाउन ट्रलीमा छानासमेत लगाइएका छन्। लगेजसम्बन्धी गुनासा सुनुवाइका लागि विमानस्थलको ब्यागेज ह्याण्डलिङ युनिटलाई सक्रिय गराइएको पनि निगमको भनाइ छ।

यसरी सामानको सुरक्षाकै लागि कर्मचारीमाथि नै यस्तो निर्णयमा पुग्नुले निगमको साखमा नै प्रश्न उठेको छ । सरकारी लगानीको वायु सेवा प्रदायक कम्पनीका कर्मचारीले गरेको व्यवहार र त्यसपछि भएको यस्तो निर्णयले निगमको इज्जतमाथि प्रश्न उठाएको मात्रै छैन । यसले कर्मचारीहरुको मनोवृत्तिमाथि समेत प्रश्न गरेको छ ।

लगेज फुट्ने र सामान नै हराउने समस्या सामान्य विषय पक्कै पनि होइन् । सामान चोरी हुनु विमानस्थलको विश्वसनीयता र निगममाथिको भरोसा खस्कनु पनि हो । यो विषयमाथि कर्मचारी स्वयमले पनि ध्यान दिनुपर्छ । कर्मचारीलाई गोजी भएका कपडा नै लगाउन नपाउने गरि निर्णय गर्नु भन्दा लज्जाको विषय अरु हुनै सक्दैन् । कर्मचारीमा इमान्दारिता र सेवाभावको अभावका कारण देखिने समस्या समाधानका लागि सरकारले यस्ता निर्णय गर्नुभन्दा प्रभावकारी ढंगले कदम चाल्नुको विकल्प भने अब छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै