चितवन । चितवन २ को मतगणना सम्पन्न भएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मंगलबार मध्याह्न सम्पन्न भएको हो । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् ।
चितवन २ मा ७८ हजार २७७ मत गणना हुँदा लामिछानेले ५४ हजार २७६ मत पाए । यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए ।

यसअघि मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी हुने भएका हुन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए । अहिले उनलाई मत थपिन पुग्यो ।
नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो ।सर्वोच्च अदालतको आदेशअनुसार पद गएपनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो । उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ ।






