सुर्खेत, कर्णालीका प्रहरी युनिटहरूमा आफ्नो काम वा सुरक्षा समस्या लिएर आउने नागरिकहरुलाई सेवा प्रवाह छिटो, छरितो र प्रभावकारी होस् भनेर कर्णालीभर नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको छ।
कर्णालीका २ सय ४४ वटा स्थायी प्रहरी यूनिटमा एकसाथ लागु हुने गरी नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी, कर्णाली प्रदेश प्रमुख डिआइजी भिम प्रसाद ढकालले संयुक्त रुपमा नागरिक सहजकर्ता प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ गरेका छन्।

सोमबारबाट उनीहरुले आफ्नो युनिटबाट काम गर्नेछन्। ‘सुरक्षित कर्णाली विशेष अभियान’ अन्तर्गत कर्णालीका १० जिल्लाका २ सय ४४ वटा प्रहरी यूनिटमा नागरिक सहजकर्ताले नम्र बोली, वचन र व्यवहारका साथ प्रस्तुत भई नागरिकको समस्याबारे सोध्ने, समस्याबारे सम्बन्धित फाँट वा कर्मचारी वा कार्यालय प्रमुखसम्म स्कर्ट गरी भेट गराउने, सम्बन्धित फाँट वा कार्यालय प्रमुखलाई भेटाएपछि समस्याबारे भनिदिने, सेवा प्रदान गरेको नागरिकको अभिलेख राख्ने समेत कामहरु हुनेछन्।

कर्णालीमा ३ सय ७७ युनिट छन् तर, स्थायी प्रहरी युनिटहरू २ सय ४४ स्थानमा नागरिक सहजकर्ता पहिलो चरणमा लागु गरिएको हो। कर्णाली प्रदेशका १० जिल्लामा एक साथ नागरिक सहजकर्ता प्रहरी परिचालन कार्यक्रम गरिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत नेपाल प्रहरी, प्रदेश कार्यालय, तालिम केन्द्र, प्रदेश ट्राफिक कार्यालय, प्रहरी दंगा, प्रहरी गण, जिल्ला प्रहरी कार्यालयहरु, विपद् व्यवस्थापन गुल्म, प्रहरी विद्यालय, ईलाका तथा चौकी तहसम्मका कम्पाउन्डमा नागरिक सहजकर्ता लेखिएको ब्यानर काँधमा भिरेर प्रहरी नागरिकको सेवामा खटिने जनाइएको छ।

नागरिक सहजकर्ता प्रहरी परिचालनपछि नागरिकले सहज सेवा लिने र कुनै अर्को व्यक्ति वा बिचौलियाको सहयोग लिन नपरोस् भन्ने मुख्य उद्देश्य राखिएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले बताए।






