दाङ, छात्रालाई जागिर दिलाउने प्रलोभनमा पारी घरमै बोलाई बलात्कार गरेको आरोपमा एक उपप्राध्यापक पक्राउ परेका छन्।
दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसक उपप्राध्यापक अन्दाजी ५० वर्षीय शेषमणि गौतम एक जना २२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार बेलुका पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजकुमार गौतमका अनुसार इटहरी घर भई देउखुरीकै एक टेक्निकल कलेजमा अध्ययनरत ती छात्रा आरोपित गौतमको घरनजिकै कोठा भाडामा बस्दै आएको हुँदा उनीहरूको बीचमा चिनजान भएको बताए ।

आइतबार दिउँसो घटनापछि विक्षिप्त बनेर पीडित छात्रा वडा प्रहरी कार्यालय लमहीमा पुगेर गौतमविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसलगत्तै आरोपित गौतमलाई आइतबार बेलुका नै लमही नगरपालिका वडा नं. ५ रातोडाँडास्थित निवासबाट पक्राउ गरेर आरोपितलाई जिल्ला अदालतमा म्याद थपका लागि पठाइएको डिएसपीले जानकारी दिए।
म्याद थप भइसकेपछि बलात्कारसम्बन्धी मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया सुरू गरिने उनले जानकारी दिए।






