८ जेष्ठ , काठमाडौ । म्याग्दी घर भएकी बालिका अर्चना पुनले टिकटकमा एउटा भिडियो हालिन् । जहाँ उनले आफूलाई क्यान्सर भएको र सहयोगका लागि सबैसँग अपिल गर्दछु भन्ने सन्देश राखिन् । उनको त्यो भिडियो पोस्ट देखिन्, पोखराकी गिभाना मगरले ।
टिकटकमा चर्चित गिभाना (आइडी गिभाना १८) उनै अर्चनाको उपचार सहयोगका लागि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर आइन् । अर्चना यसै अस्पतालमा एक वर्षदेखि क्यान्सरको उपचार गराइरहेकी छन् ।
निरन्तर उपचारको क्रममा पैसाको अभावले थलिएको उनको परिवारमा गिभाना भगवान् बनेर आइन् । अर्चनाको उपचारका लागि आग्रह गरिएको ५ दिनमै ११ लाख २२ हजार नगद संकलन गरेर गिभानाले परिवारलाई अस्पताल परिसरमै हस्तान्तरण गरिन् ।
छोटो समयमै यति धेरै सहयोग जुट्ला भन्ने उनलाई लागेको थिएन । तर, यो उनको पहिलो प्रयास भने होइन । आफूले गरेको सहयोगबाट दर्जनौँ मानिसले नयाँ जीवन पाएको बताउँदै उनले सहयोग गर्दा आफू भने अप्ठेरोमा परेको दुःखेसो पोखिन् ।
घटना गत हप्ताको हो । जुनदिन अर्चनाका लागि उपचारमा कुनै एक इन्जेक्सन दिनुपर्ने थियो । अस्पतालले तोकेको दिनको २ बजेको समयमा गिभाना र अर्चना अस्पतालमा थिए । तर, नर्सहरुले ४ः५० मा मात्र अर्चनालाई औषधि दिए । समयमै उपचार नगरेको भनी गिभानाले नर्सहरुप्रति गुनासो गरिन् । नर्सहरुले नमीठो प्रतिक्रिया दिएपछि उनले एउटा भिडियो बनाइन् । जहाँ उपचारमा लापर्बाही गरिएको भन्ने सन्देश थियो । उनले भिडियो ड्राफ्टमा राखेकी थिइन् । तर, अर्चनाले त्यो भिडियो गिभानाको टिकटक आइडीबाट सार्वजनिक गरिदिइन् । आफू बाथरूम जाँदा अर्चनाले भिडियो सार्वजनिक गरेको उनी बताउँछिन् ।
नर्सको व्यवहारलाई लिएर टिप्पणी गरिएको त्यस भिडियोमा हजारौँको संख्यामा रहेका गिभानाका समर्थकहरुले गालीको वर्षात् गर्न थाले । पेसागत आचरण, मानमर्यादा र नर्सको जीवनमै क्षति हुने गरी टिप्पणीहरु आउन थालेपछि गिभाना अहिले समस्यामा छिन् । हुन त, अर्चनाले सार्वजनिक गरेको भिडियो १५ मिनेटको अन्तरालमा आफूले फालेको उनको भनाइ छ । तर, उनको आइडी फेक बनाएर त्यो भिडियो क्षणभरमै धमाधम शेयर भए ।
यस विषयमा अस्पतालमै सरोकारवालाबीच छलफल भयो । गिभानाले माफी पनि मागिन् । तर, अहिले यो घटना प्रहरीसम्म आइपुगेको छ । कतै गिभानामाथि साइबर अपराधमा मुद्दा लाग्ने हो कि भन्ने चिन्ता उनका समर्थकहरुमा छ भने सिङ्गो नर्सिङ पेसामाथि नै दाग लाग्ने हिसाबले भिडियो हालेको भन्दै विपी कोइराला क्यान्सर अस्पतालका नर्सहरु आन्दोलित छन् । आइतबार दिनभरजसो उनीहरुले प्रहरी कार्यालयमा उपस्थित भएर भिडियोमाथि कानुनी कारबाहीको माग गरेका छन् ।
आफ्नो छोरीको उपचारमा भगवान् बनेर आएकी गिभानाको विषयमा भएको विवादबारे अर्चनाकी आमा भने दुःखित छिन् । ‘सहयोग गर्छु भन्दा समस्यामा पर्नुभएको छ’, आइतबार जिल्ला प्रहरी कार्यालयमा भेटिएकी अर्चनाकी आमाले भनिन्, ‘कृपया गिभानामाथि कारबाही हुँदा मेरो उपचाररत छोरीमाथि मानसिकरुपमा क्षति हुन सक्छ, सबै मिलेर समाधान गरौँ ।’


