२८ जेठ , काठमाडौ । नागरिकताअनुसार, उनी २०५८ साल भदौ १९ गते जन्मेका हुन् । २२ वर्षकै उमेरभित्र उनका फत्ते कुकर्मबारे सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ ।
उदयपुरका सुजन आचार्यले सानै उमेरमा कैयौँ मान्छे, मिडियादेखि मन्त्री अनि विभिन्न कम्पनीहरूलाई चुना लगाइसकेका छन् । आफूलाई ‘एस ग्लोबल प्रालि’को मालिक बताउने सुजनबाट ठगिएका ४० युवाले हालै मात्र काठमाडौंमा पत्रकार सम्मेलन गरी न्यायको याचना गरेका छन् । उनीहरूमध्ये अधिकांशले वैदेशिक रोजगार विभाग र प्रहरीमा सुजनविरुद्ध जाहेरी दिएका छन् ।
सिंगापुरमा मासिक ४ लाख रुपैयाँसम्म तलब पाउने लोभमा ठगिएका यस्ता युवा १२ जिल्लाका छन् । सुजन उदयपुर त्रियुगा नगरपालिका–१०, बोक्सेका हुन् । काठमाडौंमा आफ्ना बुवाआमा र बहिनीसित डेरामा बस्दै आएका उनी हाल फरार छन् ।
यसअघि हामीले ४० युवा कसरी सुजनको जालमा परे भन्नेबारे विस्तृत रिपोर्टिङ गरेका थियौँ । यो सामग्रीमा चाहिँ सुजन को हुन्, उनी ठगीको दुनियाँमा कहिलेदेखि कसरी पसे भन्ने पहेँली खोल्ने प्रयास गरेका छौँ ।
१२ अगस्ट २०१७ मा ‘आहा टीभी’ नामको युट्युब च्यानलमा एक भिडियो अपलोड गरिएको छ, जसमा युट्युबर सोनिका रोकायाले ‘विश्वकै कान्छा पत्रकार’ भन्दै सुजन आचार्यको अन्तर्वार्ता लिएकी छन् ।
यो अन्तर्वार्ता दिँदा सुजन केवल १६ वर्षका थिए । मध्यमवर्गीय पारिवारिक पृष्ठभूमिका उनले छेउछेउमा वाकीटाकीसहित दुई जना बडीगार्ड राखेको देखिन्छ ।
खोटाङमा परिवार पाल्न धौधौ परेपछि उनका बाजे उदयपुर झरेका थिए । सुजन जन्मेको केही वर्षपछि बुबा बेदराज आचार्य सपरिवार काठमाडौं आएर डेरामा बस्न थाले । बेदराजको आम्दानीको स्रोत पनि छोरालाई बडीगार्ड नै दिलाउने खालको देखिँदैन ।
उनकै १६ वर्षे छोरा सुजनको अन्तर्वार्ता शीर्षक यस्तो छ( गृहमन्त्रीलाई पनि थानामा पुर्याउने विश्वकै कान्छा पत्रकार, जोसँग हुन्छन् बडीगार्ड ।
युट्युबका हेडलाइन छोडौँ, कन्टेन्टभित्र पसौँ । कुराकानीमा सुजन भनिरहेका छन्, ‘म गृहमन्त्रीकै गाडी समात्ने पत्रकार, ट्राफिक पुलिसकै लाइसेन्स चेक गर्ने पत्रकार, यस्तो काम गर्दा असुरक्षा हुन्छ भनेर बडीगार्ड राखेको हुँ ।’
आम्दानीको कुनै स्रोत नभएका सुजनले त्यो अन्तर्वार्तामा देखाउनकै लागि बडीगार्ड ल्याएका थिए । सार्वजनिक कार्यक्रममा उनी अक्सर बडीगार्डसहित देखिन्थे ताकि आममानिसको ध्यान आफूतिर तान्न सकियोस् । रोचक त के भने, त्यो बेला अत्यन्तै जोखिमपूर्ण काम गरिरहेका चर्चित पत्रकार रवि लामिछानेसमेत कहिल्यै बडीगार्ड लिएर हिँडेको देखिएनन् ।
छोटो समय एबीसी टेलिभिजनमा काम गरेका उनले आफू ११ वर्षको उमेरदेखि पत्रकारिता गर्न थालेको दाबी सोनिकासित गरेका छन् । यद्यपि, पत्रकारितामा देखिने गरी उनको योगदान केही पनि थिएन, छैन । बरु कालान्तरमा उनले पत्रकारिताको आवरणमा ठगी धन्दा चलाएको ट्र्याक रेकर्डले देखाउँछ ।
आफूले ८ कक्षाबाट एकैपल्ट ‘प्राइभेट एसएलसी’ दिएकाले १५ वर्षकै उमेरमा १२ पास गर्न सफल भएको दलील युट्युबरलाई दिएका छन् ।
सुजनलाई सानैदेखि चिन्ने एक साथीका अनुसार, खासमा सुजनले एसएलसी पनि गरेका छैनन् । ‘उसले एसएलसी दिएको हो । पहिलोपल्ट तीन विषय लाग्यो, दोस्रोपल्ट दिँदा गणित विषय लागेको थियो, त्यसपछि ऊ कान्छो पत्रकार भन्दै हिँड्न थालेको हो’, ती साथीले भने । सुजन आफूले थलीको मिनील्याण्ड स्कुलमा पढेको बताउँथे ।
सोनिकासितको भिडियोमा सुजनले विश्वकै कान्छो पत्रकारका रूपमा एसियन अवार्डहरूसमेत पाइसकेको पनि बताएका छन् । नेपालमा विश्वकै कान्छो पत्रकार पहिचान भएको साँचो हुँदो हो त मूलधारका मिडियाले नदेखेजस्तो गर्न पाउँथे होला त १ ढाँट्ने छल्ने काममा उनी त्यो बेलादेखि नै माहिर थिए भन्ने कुरा भिडियो हेर्दा प्रस्ट हुन्छ ।
सोनिकावाला भिडियो आएको दुई महिनापछि।।।।
१६ अगस्टमा ‘मेरो अनलाइन टीभी’ युट्युब च्यानलमा विश्व लिम्बूले सुजनलाई देशकै कान्छो पत्रकार भन्दै अन्तर्वार्ता लिएका छन् ।
‘रवि लामिछानेको कीर्तिमान भङ्ग गर्दै सुजन आचार्य’ शीर्षकमा अपलोड गरिएको भिडियोमा सुजनले २०७५ साल वैशाख १ देखि ४ गतेसम्म ९० घण्टा टीभी कार्यक्रम गर्न लागेको दाबी गरेका छन् ।
तत्कालीन पत्रकार लामिछानेले २७ चैत २०६९ देखि १ वैशाख २०७० सम्म न्युज २४ टेलिभिजनबाट ६२ घण्टा १२ मिनेट टीभी कार्यक्रम चलाएर विश्व कीर्तिमान राखेका थिए । पाँच वर्षपछि उनको सोही रेकर्ड तोड्ने भन्दै आचार्यले कतिपय संस्थाबाट पैसासमेत असुलेको स्रोतको दाबी छ । लिम्बूलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘कुनै कारणले म अयोग्य भएँ भने पनि ९० घण्टा कार्यक्रम चलाएर मात्रै उठ्छु ।’
त्यो बेला संगतमा रहेका सुजनका अर्का साथीको भनाइमा स्कुल लेभल पनि पार नगरेको तर पत्रकारिता विधामा कीर्तिमान राख्न खोजेकाले उनलाई कसैले पत्याएनन् ।
८ कक्षा पढ्दापढ्दै परिवारसँगै काठमाडौं आएका सुजन परीक्षा दिन मात्रै तराई झर्थे । स्कुल पढ्दैदेखि एबीसी टीभीमा केही समय धार्मिक कार्यक्रम चलाएकाले उनी आफूलाई पत्रकार दाबी गर्थे । छोटो समय उनले समाचारमूलक कार्यक्रम पनि चलाए । यसै क्रममा सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउने गृहमन्त्रीलाई प्रहरी चौकी पुर्याएको दाबी गर्दै उनले आफ्नो प्रचार गरे ।
आफूलाई कान्छो पत्रकार भन्दै सुजन गाडी र बडीगार्ड भाडामा लिएर हिँड्थे । यस्तोमा राम्रै सब्स्क्राइबरवाला युट्युब च्यानलले अन्तर्वार्ता लिएर उनको प्रचार गरिदिए ।
ऋषिको आशीर्वादमा रविको रेकर्ड तोड्ने भन्दै ठगी
सिंगापुरमा ४ लाख रुपैयाँ तलब हुने रोजगारी दिन्छु भन्दै ठगी गर्न उनले सञ्चारकर्मी ऋषि धमलाको नामसमेत बेचेको पीडितहरू बताउँछन् । ‘ऋषि धमला मेरो भिनाजु हो, उहाँले जस्तै परिस्थितिमा पनि साथ दिनुहुन्छ भन्थ्यो’, ४६ लाख रुपैयाँ ठगिएका अछामका अनिल अधिकारीले भने ।
धमलासँग सुजनको कनेक्सन पनि रोचक छ ।
आफ्नो स्वार्थका लागि सम्बन्ध बिस्तार गर्न माहिर सुजन २०७४ सालमै धमलासँग जोडिएका हुन् । धमलासँग नजिकिन उनले धमलापत्नी एलिजालाई दिदी बनाएर तिहारमा टीका लगाएका थिए । यति सम्म कि, केही समय उनी धमलाकै घरमा बसेका थिए ।
धमलाले चाहिँ सुजनलाई साथ दिएको, रवि लामिछानेको रेकर्ड तोड्छु भनेपछि हो । सुजनले धमलालाई अगाडि राखेर रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरी ‘लामिछानेको रेकर्ड तोड्ने’ उद्घोष गरेका थिए । यसका लागि धमलाले उनलाई खुब हौसाएका थिए ।
९० घण्टाको कार्यक्रम एबीसी टेलिभिजनमै चलाउने सुजनको चाहना थियो । तर एबीसीले उनलाई पत्याएन । २०७५ सालमा प्राइम टाइम्स टेलिभिजन खुल्यो । कसैले नपत्याएका सुजनलाई धमलाले प्राइम टीभीको ढोका खोलिदिए । रेकर्ड राख्ने बहानामा पैसा उठाउँदै हिँडेको र खासै विश्वास लाग्नेगरी तयारी नगरेको देखेपछि धमला पनि हच्किए र प्राइममा ९० घण्टा दिन मानेनन् ।
यद्यपि, सुजनले एलिजाका भाइसँग मिलेर दुई एपिसोड ‘विश्वकप फुटबल विशेष’ कार्यक्रम भने चलाए । एलिजाको सिफारिसमा प्राइम स्टुडियो छिरेका सुजनलाई उनको रवाफका कारण सोही टीभीका सिनियरहरूले रुचाउँदैनथे । ‘गुदी केही छैन, टीभी छिर्नुको उद्देश्य ठीक छैन भनेर न्युजका प्रायः साथीहरूले उसलाई मन पराएनन् तर एलिजा भाउजूको साथले ऊ स्क्रिनमा जान पायो’, धमलाका एक विश्वापात्रले भने । सुजनलाई रोक्न खोज्ने केही पत्रकारसँग रिसाएर धमलापत्नी एलिजाले लामो समय बोलचाल नै बन्द गरेकी थिइन् ।
प्राइम टीभीमा सुजनले चलाउने विश्वकप विशेष कार्यक्रममा ‘प्रश्नोत्तर’ भाग पनि थियो । विजेतालाई पुरस्कार दिनुपर्थ्यो । यही बहानामा सुजनले कतिपयसँग पैसा पनि उठाए । तर दुई एपिसोड चलाएपछि कार्यक्रम बीचमै छोडेर हिँडे । धमलासँग उनी टीभीमा छिर्न, नेता र सेलिब्रेटीसँग सम्बन्ध विस्तार गर्न नजिकिएका थिए । त्यतिबेलै उनी भाडाको कारमा भाडामा बाउन्सर लिएर हिँड्थे ।
हीरा लुट
९ चैत २०७६ मा मकवानपुर कैलाश गाउँपालिका–५, चौकीटार गोगनेकी ७० वर्षीया धनलक्ष्मी गुरूङको हीरा लुटेको आरोपमा समातिएका चार जनामध्ये सुजन आचार्य पनि थिए । अन्य तीन जना प्रहरी थिए ।
आचार्यसहित सुर्खेत वीरेन्द्रनगर १२ का २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ का २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ का २८ वर्षीय हिमकान्त पुन मगर हीरा लुटेको आरोपमा जेल परे । धनलक्ष्मीको ज्वाइँ अमृत थिङ २५ हजार धरौटी बुझाएर तारेखमा छुटे । पत्रकारको परिचय आचार्यले अक्सर यस्तै कुत्सित गतिविधिमा दुरुपयोग गरेको देखिन्छ ।
करोडौँ पर्ने भनिएको हीरा लुटसम्बन्धी मुद्दा अदालत पुग्दा सामान्य ढुङ्गामा परिणत भएपछि सुजनसहितका अभियुक्त जोगिएका थिए ।
यो मुद्दाबाट जोगिएर पनि उनी सुध्रिएनन् । छुटेको केही समयमै उनी अर्को अपराधमा समातिए ।
एक व्यवसायीलाई धम्क्याएर सात करोड रुपैयाँ मागेको कसुरमा जेठ २०७९ मा सुजनसहित ७ जना पक्राउ परे । ती व्यवसायी र एक मोडेलको गोप्य भिडियो आफूहरूसँग रहेको र मागेको रकम नदिए ‘जे पनि हुने’ भन्दै उनीहरूले धम्की दिएका थिए ।
‘ब्ल्याकमेलिङ’पछि व्यवसायीले प्रहरीमा उजुरी दिएर सुजनको गिरोहलाई पक्राए । उक्त मुद्दाका आरोपीहरू केही समय थुनिएर धरौटीमा छुटे । अहिले पनि त्यो मुद्दा अदालतमा विचाराधीन छ । तारेख धाउन सुजन धुम्बाराहीस्थित सेभेन स्टार सेक्युरिटीबाट १२ जना बाउन्सर लिएर अदालत पुगेका थिए ।
अदालतमा मुद्दा नटुङ्गिएजस्तै सुजनको ठगी धन्दा पनि टुङ्गिँदैन । ब्ल्याकमेलिङ मुद्दा किनारा नलाग्दै उनले १२ जिल्लाका ४० भन्दा बढी युवाबाट साढे ४ करोडभन्दा धेरै रकम ठगी गरेका छन् । आफूलाई एस ग्रुप ग्लोबल कम्पनीको मालिक भनेर उनले आम युवा मात्र होइन, मिडियादेखि मन्त्रीसम्मलाई चुना लगाएका छन् ।
यी पात्रसँग भेट भयो भने ठान्नुस्, तपाईं ठगिनुभोस् अनिल, पारस र साथीहरूको कथा
व्यवसायीलाई धम्काएर सात करोड मागेको मुद्दामा धरौटीमा छुटेका उनले सोही वर्ष भदौमा आफ्नो जन्मदिनमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरलाई झुक्याएर प्रमुख अतिथि बनाए । पाँचतारे याक एण्ड यती होटलमा श्रममन्त्री कुँवरलाई उनले आफ्नो ‘एभरेस्ट स्प्रिङ वाटर’ कम्पनीको उद्घाटन गर्न भनेर बोलाएका थिए । आचार्यले चितवनमा करोडौँ लागतमा ‘लभ पार्क’ बनाउन लागेको पनि सुनाएका थिए । २१ वर्षे युवाले उद्यमशीलतामा तरक्की गरेको ठानेर श्रममन्त्री प्रमुख अतिथि बनेर ‘वर्थ डे सेलिब्रेसन’मा प्रमुख अतिथि बनेर पुग्दा आलोचित बन्नुपरेको थियो ।
यति मात्र होइन, आचार्यले एस ग्रुप ग्लोबलको नाममा विज्ञापन प्रशारण गरेर टीभी टुडेलाई समेत पैसा नतिरी फरार भएका थिए । उनले ग्लोबल टीभीलाई एभरेस्ट स्प्रिङ वाटरको विज्ञापन मिलाइदिने आश्वासन दिएर टीभी मालिक सुरेश काफ्लेलाई समेत ढाँटेको बताइन्छ ।
टीभीमा बजेको विज्ञापन देखाएर उनले आमयुवालाई ठग्ने गरेको देखिन्छ । कतिपय युवा टीभी र युट्युबमा आएका विज्ञापनबाटै प्रभावित भएको बताउँछन् ।
सुजनले आफूलाई भेट गरेको पहिलो दिनदेखि ठगेर १७ लाख रुपैयाँमा गाडेको काठमाडौंका सुमन दंगाल बताउँछन् । म अनलाइनबाट आएको मागअनुसार ट्याक्सी चलाउँथे । ुयसै क्रममा एक दिन सुजनसँग भेट भयो । मसँग अलिअलि पैसा छ भन्ने थाहा पाएको ऊ मेरो पछि लाग्यो । मेरो घरमा समेत पुग्यो । पछि सिंगापुरमा चार लाखवाला जागिर लगाइदिन्छु भनेर १७ लाख ठग्योु, दंगालले भने ।
युवाहरूलाई प्रभावमा पारेर पैसा असुल्न उनले विश्वप्रसिद्ध नेतादेखि नेपालका चर्चित सेलिब्रेटीसम्मको फोटो दुरुपयोग गर्ने गरेका छन् । सामाजिक सञ्जालमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बसेको फोटो पोस्ट गरेका थिए ।
वास्तवमा त्यो फोटो मेडम टुसाड म्युजियम सिंगापुरमा मोदीको स्ट्याचुमा खिचिएको हो । यस्तो स्ट्याचुमा मान्छे वास्तविकजस्तो देखिन्छ तर होइन । कहिलेकाहीँ वास्तविक मान्छेले आफ्नै स्ट्याचुसँग फोटो खिचाउने गरेका छन् ।
तर, यसलाई वास्तविक मोदीसित खिचेको फोटो ठानेर झुक्किने युवाको जमात ठूलो छ । उनले प्रहरीका उच्च अधिकारी, नेता, मन्त्रीहरूसँग खिचेको फोटो पनि दुरुपयोग गर्ने गरेको पीडितहरू बताउँछन् ।
उनका बुबा बेदराज हिन्दु धर्मसम्बन्धी गतिविधिमा सक्रिय छन् । कुनै बेला विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरममा सक्रिय उनी अहिले प्रत्यक्ष राजनीतिबाट टाढा छन् । राप्रपाबाहेकका राजवादीसँग नजिक मानिने बेदराज अचेल काठमाडौंको विभिन्न ठाउँमा सप्ताह लाउने काम गर्छन् ।
बेदराज पनि एक समय छोरा सुजनसँग मिलेर नेपाल दर्शन नामको टीभी खोल्न कस्सिएका थिए । बत्तीसपुतलीमा टीभी कार्यालय बनाउने भनेर बाबुछोराले टेलिभिजनका केही सामान पनि किनेका थिए । यो कामका लागि सुजनले कतैबाट पैसा उठाए, उठाएनन् खुलेको छैन । तर उनीहरूले टीभी ल्याउन सकेनन् ।
सुजनलाई नजिकबाट चिन्ने एक सञ्चारकर्मी भन्छन्, ‘उसको परिवार पनि लामो समय एउटै डेरामा बसेको देखिँदैन । छोटो समयभित्र कहिले भैंसेपाटी, कहिले गोठाटार, कहिले चाबहिल सरिरहन्छन् । जति बसुन् उनीहरूको कुरा भयो तर लामो समय बसेको देखिँदैन,’ उनले भने ।
छोराको ठगी धन्दाबारे बेदराजले अब अदालतले सबै टुङ्गो लगाउने बताएका छन् । ‘मिडियामा सबै ल्याइहाल्नुभयो । अब अदालतले दोषी हो कि होइन भन्ने कुरा टुङ्ग्याउने हो,’ उनको भनाइ उद्धृत गर्दै सुजनपीडित पारस अधिकारीले भने ।




