लमजुङमा सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङले २७ वर्षीया युवतीलाई गहना चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए।
बेशीसहर नगरपालिका-७ की सुजा घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सोमबार जिल्ला अदालत लमजुङबाट पाँच दिन म्याद लिई घिमिरेमाथि अनुसन्धान अघि बढाएको छ।
प्रहरी निरीक्षक सुवेदीका अनुसार उनीमाथि दुई वटा चोरी गरेको कसुर आरोप छ। गत वैशाख २५ गते वडा ७ क्याम्पस रोडस्थित जमुना रिमालको घरबाट सुनका गरगहना चोरी भएको थियो। जमुना र सुजा साथीहरू हुन्।
घरबाट ठूलो परिमाणमा चोरी भए पनि जमुनाले प्रहरीलाई खबर गरेकी थिइनन्। चोरी भइसकेको सामान फिर्ता पाउने सम्भावना न्यून रहेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिएनन्। जिल्ला प्रहरी कार्यालय लमजुङले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।






