
३ असोज , काठमाडौ । काभ्रेपलाञ्चोकको मण्डनदेउपर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आठौं संविधान दिवसको अवसरमा बुधबार नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले एक सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको हो ।
नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको, कार्यालय सार्नेक्रममा गत शनिबारदेखि नै लगातार बिहानदेखि रातिसम्म कर्मचारी खटिएका रआज संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका कारण थकित भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख टोकबहादुर वाइबाले नेपाल प्रेसलाई जानकारी दिए ।
नगरपालिकाका सूचना अधिकारी कासीनाथ नेपालले पनि नयाँ कार्यालय सरेका कारण निरन्तर दुई तिन दिनदेखि जनप्रतिनिधि तथा कर्मचारी खटिएको र थकिएकाले सार्वजनिक विदा दिने निर्णय भएको बताए । तर, उनले सूचनामा ‘थकाई’ बिदा लेख्दा शब्द चयनमा केहि कमजोरी भएको बताए ।
उनले भने, ‘नगरपालिकाले आवश्कताका आधारमा दुई तीन वटा विदा दिन पाउँछ । कार्यापालिकाको बैठक बसेर निर्णय गर्नुपर्ने हो । तर, तत्काल बैठक बस्न नसक्ने अवस्था भएका कारण नगरप्रमुख स्तरीय निर्णयबाट सार्वजनिक विदा दिने निर्णय भएको हो ।’
उनले बुधबार संविधान दिवसका अवसरमा सार्वजनिक विदा भए पनि दिनभर दिवस मनाउनेदेखि नयाँ कार्यालय सुभारम्भ गर्ने काममा जनप्रतिनिधि तथा कर्मचारी व्यवस्त भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको बताए ।