२५ असोज , काठमाडौ । गोकर्णेश्वर नगरपालिका–३ जगडोलमा प्रहरीले गोली प्रहार गरी लुट्न आएका तीन जनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी तीन जनालाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दिपक थापाका अनुसार पक्राउ परेका व्यक्तिबाट सात राउण्ड गोलीसहित पेस्तोल बरामद भएको छ ।

प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिइएको एआईजी थापाले बताए । उनले अनलाइन नेपालसँग भने–‘लुटेरा समूहले प्रहरी टोलीमाथि नै आक्रमण प्रयास गरेपछि प्रहरीले बाध्य भएर जवाफी कारवाही गरेको हो ।’
लुटेराहरू ‘लुट्न आउँदैछन’ भन्ने गोप्य सूचना पाएको प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली चलाएको जनाएको छ । गोकर्णेश्वर नगरपालिका–३ को जगडोलमा ३ वटा मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै गरेको प्रहरी टोलीलाई देख्नासाथ उक्त लुटेरा समूहले प्रहरी टोलीमाथि नै आक्रमण प्रयास गरेपछि प्रहरीले बाध्य भएर जवाफी कारवाही गरेको एआईजी थापाले बताए ।
प्रहरीको गोली लागेर कमलामाई नगरपालिका–२, सिन्धुली घर भएका ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टामा गोली लागेको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।
घलानन सुन लुट्ने समूहहको नाइके भएको प्रहरी स्रोत बताउँछ । उनले विभिन्न ठाउँमा तस्करी र अवैध सुन किन्न तथा खोज्न हिँड्ने र सुन भेटिएपछि पेस्तोल देखाएर लुट्ने गरेको प्रहरीको भनाई छ । उनले विभिन्न ठाउँमा गोली नै चलाएको खुलेको प्रहरीको दाबी छ ।
सर्लाहीका शान्त लामा र सिन्धुपाल्चोकका जितेन लामालाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





