काठमाडौं: लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिह राठौरका अनुसार लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन बुधबार दिउँसो गोली प्रहार गर्नुपरेको बताए ।
प्रहरीको गोली लागेर भारतीय नागरिक मोहम्मद करिम घाइते भएका छन्। लागुऔषध कारोबारीले प्रहरीलाई गोली ताकेपछि आत्मसुरक्षाको लागि बाध्य भएर जवाफी कारवाही गरेको एसएसपी राठौरलेले बताए ।
झापाको कचनकबल गाउँपालिका वडा नम्बर ८ घर भएका ३७ वर्षीय हर्क लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ।
साथै उनीहरूको साथबाट पेस्तोल, तीन राउण्ड गोली र तराजु पनि बरामद भएको एसएसपीले बताए।
दाहिने खुट्टामा गोली लागेका घाइते करिमको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।







