Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ३० आइजीपी, को-कस्ता ?

२० कात्तिक , काठमाडौ । नेपालमा प्रहरी संगठनको औपचारिक स्थापना वि।सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि असोज महिनामा भएको हो । यद्यपी शान्ति–सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो ।

यस संगठनलाई नागरिकका सुरक्षाको दृष्टिमा सर्वोत्कृष्ट निकाय मानिन्छ । नेपाल प्रहरी जस्तो संवेदनशील सुरक्षा अंग, जो नेपालका हकमा शान्ति सुरक्षा तथा अपराध अनुसन्धान गर्ने निकाय मात्र होइन, कानुन कार्यान्वयनको प्रमुख संयन्त्र पनि हो । राज्यको हरेक भूगोल र हरेक नागरिकसम्म पुग्न सक्ने एक मात्र सरकारी निकाय पनि प्रहरी नै हो ।

संविधानमा व्यवस्था भएका विधिविधानको कार्यान्वयन गर्दै शान्ति सुरक्षा कार्यलाई व्यवस्थित बनाउने नेपाल प्रहरीले ९ दशकमा संगठन हाँक्ने ३० महानिरीक्षक पायो । जसमा नेतृत्वमा रहँदा कोहि विवादित बने भने कोहि वाहवाही पाएर बाहिरिए ।

तोरण शमशेर जबरा
नेपाल प्रहरीको पहिलो हुन् आईजीपी तोरण शमशेर जबरा । प्रहरी प्रधान कार्यालयको स्थापनापछि जबरालाई २००७ चैतमा आईजी नियुक्त गरिएको थियो । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएपछि पहिलो आईजीपीको रुपमा कार्यभार सम्हालेका जबरा ३ दिनभित्रै षड्यन्त्रको शिकार बने र पदच्यूत भए ।

नर शमशेर जबरा
पहिलो आईजी नियुक्त भएका तोरण शमशेर पदच्यूत भएपछि दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबरालाई नियुक्त गरियो । उनले २ वर्ष अर्थात २००७ चैतदेखि २०१० मङ्सिरसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हाले । नर शमशेरलाई १ सय ३ वर्षे राणा शासनका एक क्रुर पात्रको रुपमा लिइन्छ । उनले चार जना– शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्डको सजाय दिएका थिए ।

ज्ञानबहादुर याक्थुम्बा
नेपाल प्रहरीको तेस्रो प्रहरी महानिरीक्षक हुन् जीबी अर्थात ज्ञानबहादुर याक्थुम्बा । २०१० मंसिरमा आइजीपी नियुक्त भएका उनले ०१२ भदौसम्म महानिरीक्षकको रुपमा काम गरे । उनी भर्ना सेनाको मेजर पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
महानिरीक्षकबाट अवकाश पाएपछि उनी बर्माका लागि नेपाली राजदूत भए । उनी स्वतन्त्रता सेनानी, मानव अधिकारको प्रवक्ता, गरिबजनको नायकका रूपमा पनि स्थापित थिए ।

गोपाल शमशेर जबरा
गोपाल शमशेर जबरा नेपाल प्रहरीको चौथौं महानिरीक्षक हुन् । २०१२ भदौदेखि २०१३ साउनसम्म उनले महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए । उनी राणा विरोधी अभियानमा समेत लागेका थिए ।

पूर्ण सिंह खवास
खवास नेपाल प्रहरीको पाँचौं महानिरीक्षक हुन् । उनले २०१३ साउनदेखि २०१४ भदौसम्म महानिरीक्षकको रुपमा कार्यभार सम्हालेका थिए । उनी राणा शासनको अन्त्य गर्ने नायकमध्येक एक योद्दा हुन् । शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएपछि खवासकै नेतृत्वमा जनमुक्ति सेना गठन गरि राणा शासनको विरुद्ध क्रान्ति सुरु भएको थियो ।

ढुण्डिराज शर्मा
छैटौं महानिरीक्षकको रुपमा ढुण्डिराज शर्माले जिम्मेवारी सम्हालेका थिए । उनले २०१४ भदौदेखि २०१८ पुससम्म चार वर्ष जिम्मेवारी पाएका थिए ।

पहल सिंह लामा
लामा नेपाल प्रहरीको सातौं महानिरीक्षक हुन् । २०१८ पुसमा महानिरीक्षक नियुक्त भएका उनले २०२३ असारसम्म प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए । नेपाल प्रहरी क्लबको स्थपना गर्न उनको योगदान उल्लेख्निय छ । महानिरीक्षकबाट अवकाश पाएपछि उनी कोलकाताको क्न्सुलर जनरल बनेका थिए ।

रोम बहादुर थापा
थापा नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने आठौं महानिरीक्षक हुन् । मगर समुदायबाट प्रहरी महानिरीक्षक हुने प्रथम व्यक्ति समेत हुन् । उनले २०२३ असारदेखि २०२९ असारसम्म नेतृत्वमा रहेर काम गरेका थिए ।

खड्गजित बराल
बराल नेपाल प्रहरीका नवौं महानिरीक्षक हुन् । उनी संगठनमा सबैले मन पराउने नेतृत्वमा पर्छन् । इमान्दार स्वभावका बरालले २०२९ असारदेखि २०३५ जेठसम्म नेपाल प्रहरीको कमाण्ड सम्हालेका थिए । प्रहरी सेवाबाट अवकाश पाएपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत, इन्डोनेसिया, सिंगापुर र फ्रेन्च इन्डोचाइना ९लाओस, कम्बोडिया, भियतनाम०को लागि गैरआवासीय नेपाली राजदूतको रुपमा काम गरे ।

बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद समेत भएका थिए । सांसदको रूपमा सेवा समाप्त भएपछि उनी युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भएका थिए ।

दुर्लभ कुमार थापा
थापाले २०३५ साउनदेखि २०३९ जेठसम्म प्रहरीको नेतृत्व सम्हालेका थिए । उनकै अग्रसरतामा आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएका हुन् । सन् २०१३ मा थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान ९महाराजगञ्ज०बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित समेत भएका थिए ।

दिलबहादुर लामा
लामा नेपाल प्रहरीको नृतृत्व सम्हाल्ने ११ औं आइजीपी हुन् । उनी २०३९ असारदेखि ०४३ जेठसम्म महानिरीक्षक बनेका थिए । लामाले आफ्नो कार्यकालमा प्रहरी संगठनलाई आधुनिकीकरण र साधनस्रोत सम्पन्न बनाउन अग्रसरता देखाएका थिए । उनकै कार्यकालमा ०४३ सालमा नेपाल प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन थालियो ।

त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइदैँन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो । भूतपूर्व नेपाल प्रहरी संगठनका संस्थापक अध्यक्षसमेत रहेका लामा ०११ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका थिए ।

हेम बहादुर सिंह
हेमबहादुर सिंह नेपाल प्रहरीको १२ औं महानिरीक्षक हुन् । उनलाई खाकी पोशाक लगाउने अधिकृतको रुपमा चिनिन्छ । चार वर्ष २०४३ असारदेखि २०४७ जेठसम्म नेतृत्व सम्हालेका सिंहलाई ५७ औँ प्रहरी दिवसका दिन सम्मान गरिएको थियो ।

रत्नशमशेर जबरा
उनी नेपाल प्रहरीका १३ औं महानिरीक्षक हुन् । वि।स २०४७ असारमा प्रहरी महानिरीक्षक बनेका राणालाई तत्कालीन सरकारले २०४९ फागुनमा ३० वर्षे सेवा अवधि लगाएर हटाएको थियो । त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री थिए । उनकै पहलमा प्रहरी कर्मचारीको सेवाहद ३० वर्ष कायम हुने प्रावधान लागू भएको थियो ।

मोतिलाल बोहरा
३० वर्षे सेवाअवधि लागू भएपछि रत्नशमशेरलाई हटाएर सरकारले २०४९ देखि देउवानिकट मोतिलाल बोहरालाई महानिरीक्षकमा बढुवा गरेको थियो । उनले आफ्नो चार वर्षे पूरै कार्यकाल २०५३ माघसम्म खाएर अवकाश पाएका थिए । पछि उनी भ्रष्टाचार मुद्दामा समेत मुछिएका थिए । तर, पछि सर्वोच्चले उनलाई सफाई दियो ।

धुव्रबहादुर प्रधान
प्रधान प्रहरीको १५ औं महानिरीक्षक हुन् । २०५३ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका थिए । २०५४ मंसिरसम्म नेतृत्वमा रहेका प्रधान हाल राप्रपाबाट सांसद समेत छन् ।

अच्युतकृष्ण खरेल
खरेल नेपालका १६ औं महानिरीक्षक हुन् । २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका उनले दुई पटक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले । माओवादी जनयुद्धको बेला प्रहरी महानिरीक्षक नियुक्त भएका खरेलले २०५३ फागुनदेखि २०५३ चैत र २०५४ मंसिरदेखि २०५७ असोजसम्म नेतृत्वको जिम्मेवारी वहन गरेका थिए ।

प्रदीप शमशेर जबरा
जबरा नेपाल प्रहरीको १७ औं महानिरीक्षक हुन् । २०५७ असोजपछि २०५९ पुससम्म नेतृत्वमा रहेका जबरा संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्थे ।

श्यामभक्त थापा
थापा नेपाल प्रहरीका १८ औं महानिरीक्षक हुन् । २०५९ पुसमा प्रहरी प्रमुखमा नियुक्त भएका उनले २०६३ भदौसम्म नेतृत्व गरेका थिए ।

ओम विक्रम राणा
२०६३ सालमा प्रहरी प्रमुखमा नियुक्त भएका राणाले २ वर्ष अर्थात २०६५ भदौसम्म प्रहरीको नेतृत्व सम्हाले । पछि उनी सुडान घोटालामा भ्रष्टाचारी ठहरिए । उनले सुडानको डार्फरमा खटिएका नेपाल प्रहरीका लागि आवश्यक एपिसी सामग्री खरिदमा अनियमितता गरेको भन्दै विशेष अदालतले २०६८ फागुन १ मा भ्रष्टाचारी ठहर गरेको थियो ।

हेमबहादुर गुरूङ
गुरूङ नेपाल प्रहरीको २० औं महानिरीक्षक हुन् । उनले २०६५ असोजदेखि २०६५ फागुन चार महिनासम्म संगठनको नेतृत्व गरेका थिए । उनी पनि सुडान घोटालामा मुछिए ।

रमेश चन्द ठकुरी
रमेश चन्द ठकुरी २१ औं प्रहरी महानिरीक्षक हुन् । २०६५ फागुनदेखि २०६८ जेठसम्म प्रहरी नेतृत्वमा रहेका चन्दसमेत सुडान घोटालामा मुछिएका अधिकृत हुन् ।

रविन्द्र प्रताप शाह
२२ औं प्रहरी महानिरीक्षक हुन् रविन्द्र प्रताप शाह । उनी २०६८ जेठ १८ गतेदेखि २०६९ भदौ २८ गतेसम्म प्रहरी संगठनको नेतृत्वमा थिए । सादा जीवन उच्च विचारको जीवन शैलीबाट अभिप्रेरित शाह प्रहरी सेवाप्रति निष्ठावान, व्यावसायिक र ईमान्दार प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।

कुवेर सिंह राणा
कुवेर सिंह राना नेपाल प्रहरीका २३ औं महानिरीक्षक हुन् । उनलाई तत्कालिन सरकारले २०६९ भदौ २८ गते प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो । उनले २०७० कात्तिक ३० गतेसम्म प्रहरीको नेतृत्व सम्हालेका थिए ।

उपेन्द्र कान्त अर्याल
उपेन्द्र कान्त अर्याल नेपाल प्रहरीका २४ औं आईजीपी हुन् । २०७० मङ्सिरदेखि २०७३ फागुनसम्म उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले । अर्याल संगठनमा कडा र हक्की स्वभावका अधिकृतको रुपमा चिनिन्थे ।

प्रकाश अर्याल
२५ औं आईजीपी भएका प्रकाश अर्याललाई सरकारले २०७३ चैत २८ मा प्रहरी प्रमुखमा नियुक्त गरेको हो । सुरुमा सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेको थियो । तर, उनले फुली लगाउन नपाउँदै सर्वोच्चले निर्णय कार्यान्वयनमा रोक लगाएपछि अर्यालको भाग्य चम्केको थियो । अर्यालले २०७४ चैत २८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने अवसर पाएका थिए ।

सर्वेन्द्र खनाल
सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक हुन् । उनी २०७४ चैत २६ गते प्रहरी महानिरीक्षक पदमा बढुवा भएका थिए । २०७६ माघ २७ गतेसम्म प्रहरीको नेतृत्वमा रहेका खनाल अवकाश पाएपछि राजनीतिमा सक्रिय भएका छन् ।

ठाकुर प्रसाद ज्ञवाली
ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीका २७ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई विसं २०७६ माघ २८ मा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । सर्वेन्द्र खनालले अवकाश पाएपछि माघ २९ मा ज्ञवालीले प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । उनले २०७६ माघ २८देखि २०७७ असार २३ गतेसम्म प्रहरीको नेतृत्व सम्हाले ।

संयुक्त राष्ट्र संघबाट शान्ति स्थापनार्थ उनी एकपटक एफपीयू र दुईपटक अनपोल मिसनमा समेत सहभागी भएका छन् । सरल स्वभावका उनले लागू औषध नियन्त्रण तथा संगठित अपराध अनुसन्धानको क्षेत्रमा पनि काम गरेका छन् ।

शैलश थापा क्षेत्री
थापा २८ औँ प्रहरी महानिरीक्षक हुन् । २०७७ असार २३ मा आइजीपीमा बढुवा भएका थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारी बहन गरेका थिए । संगठनमा उनी इमान्दार, अब्बल, बौद्धिक र व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्थे । संगठनभित्र व्यवसायिक एवं इमान्दार अधिकृतका रुपमा चिनिन्छन् ।

धीरज प्रताप सिंह
२०७९ वैशाख १७ गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका धीरज प्रताप सिंह २९ औं प्रहरी प्रमुख हुन् । २०७९ चैत १० गतेसम्म नेतृत्वमा रहेका सिंहले संगठनमा अब्बल अधिकृतको पहिचान बनाउन सफल भए भने तीन तहको निर्वाचन सम्पन्न गरेका थिए ।

सीमित स्रोत साधनका बाबजुद पनि प्रहरीले अहोरात्र खटिएर स्थानीय तह र प्रदेश तथा संघको चुनाव शान्तिपूर्ण रुपमा गराएका थिए । यी दुई चुनावमा छिटपुट घटना बाहेक कुनै ठूलो घटना हुन पाएन । चुनावी सुरक्षामा आईजी सिंह सफल नै भएको देखिन्छ ।

वसन्त बहादुर कुँवर
हालका ३० औं प्रहरी महानिरीक्षक हुन् बसन्त कुँवर । उनलाई सरकारले २०७९ चैत १० गते ३० औं प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गरेका उनी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनकै पालामा ललिता निवास, नक्कली भुटानी शरणार्थी काण्ड लगायत ठूला काण्डहरुको फाइल खोलियो । राजनीतिका आडमा उम्किँदै आएका भ्रष्टाचारी नेता, कर्मचारीहरु जेल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै