काठमाडौं: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जनालाई विभिन्न मितिमा पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
आइतबार प्रहरीले थप चार जनालाई पक्राउ गरेको कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए। पक्राउ पर्नेमा नवलपुरका ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्तबहादुर थापा, गोरखाकै २१ वर्षीय विपिन ढकाल, २३ वर्षीय अजित फेवाली, उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठ, काभ्रेका २८ वर्षीय जीवराज तामाङ, काठमाडौंका २३ वर्षीय साइरस विसंखे, ३८ वर्षीय दीपक केसी र सल्यानका ४२ वर्षीय बलबहादुर रावत हुन् ।
कात्तिक १२ गते भिजिट भिसामा विदेश जाने भनेर केही व्यक्तिहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। विदेश जानेहरू कतिपय कतार, कुवेत, दुबईजस्ता देशहरू जाने तयारीमा थिए। त्योसँगै कतिपय रूस जानेहरू पनि भेटिएको प्रहरीले बताएको छ।
‘कोही कुवेत, दुबईलगायत ठाउँहरूमा जाने भेटिए। तर यसमा विशेषगरी रूसी सेनामा जान लागेको भनेर हो। भूपू सेना पनि जान लागेको भेटिएपछि यो गिरोहबारे खुलेको हो। युक्रेन पनि जानेहरू छन्। तर त्योभन्दा रूस जानेहरू रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।
अनुसन्धानका लागि विमानस्थलबाट कागजातहरू पठाइएको थियो। अनुसन्धान गर्ने क्रममा दुई सय ९६ जनाका कागजात नक्कली रहेको खुलेको हो। उनीहरूको पासपोर्ट सक्कली नै भए पनि प्रहरी चारित्रिक प्रमाणपत्र, प्लस टुको प्रमाण पत्र, श्रम स्वीकृति लगायतहरू नक्कली फेला परेको थियो।
कतिपय व्यक्तिहरूले कक्षा ५, ७ सम्ममात्रै अध्ययन गरेको भए पनि प्लस टुको नक्कली प्रमाणपत्र ल्याएको फेला परेको छ।
विदेश जान लागेका व्यक्तिहरूले कागजात बनाइदिने मानिस चिनेका थिएनन्। सबै फोनमार्फत् कागजात बन्ने गर्थ्यो भने त्यसको भुक्तानी क्युआरबाटै हुने गर्थ्यो। काजगात आदानप्रदान गर्नलाई पनि उनीहरूले पठाओको प्रयोग गरेको अनुसन्धानको क्रममा खुलेको छ।
अनुसन्धानकै क्रममा रूस जान लागेका सुशील भण्डारीको पनि प्रहरीले नक्कली कागजात फेला पारेको थियो। उनी नेपाली सेनाका भूपूसैनिक हुन्।
उनीमार्फत प्रहरीले यसका चार वटा लेयर पत्ता लगाएर यसमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार यसका मुख्यव्यक्ति जयराम श्रेष्ठ हुन्। विदेश जाने व्यक्तिहरू खोजेर उनले राहदानी उठाउँथे।
भक्तबहादुर थापा मञ्जरी ट्राभल्स एन्ड टुरका सञ्चालक हुन्। उनले भिजिट भिसाका लागि टिकट मिलाइदिने काम गर्थे। यस्तै जयरामले दिएका पासपोर्ट लिएर भक्तबहादुरले नक्कली काजगात बनाउने काम साइरस, दीपक र बलबहादुर रावल लगायतले गर्थे।
उनीहरूले काठमाडौंका दुई ठाउँमा फ्लाट नै भाडामा लिएर नक्कली कागजात बनाउने गरेका थिए। स्वयम्भू र टोखामा प्रहरीले छापा मारेर थुप्रै सरकारी नक्कली कागजात बरामद गरेको हो।


