Comments Add Comment

Advertisment

SKIP THIS

स्ववियु निर्वाचनको तयारी छोडेर नेविसंघमा आफैं कुटाकट

१९ फागुन , काठमाडौ । त्रिभुवन विश्वविद्यालय तथा विद्यार्थी संगठनहरु आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तयारी गरिरहँदा नेपाल विद्यार्थी संघ भने आन्तरिक मुठभेटमा उत्रेको छ ।

त्रिविले प्रकाशित गरेको कार्यतालिका अनुसार स्ववियु निर्वाचन हुने अवधि तीन साता पनि बाँकी छैन । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले शुक्रबारदेखि स्ववियु निर्वाचनको कार्यतालिका कार्यान्वयन गर्ने क्रममा छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा स्ववियु निर्वाचनलाई नै लिएर विवाद चुलिएको छ । संस्थापन र इतर पक्षको विवाद बढ्दै जाँदा बिहीबार दुई पक्ष कुटाकुटमा उत्रिएका छन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु निर्वाचनका लागि दुई पक्षले प्रतिनिधि खटाएको विवाद मिलाउन बसेको छलफलमा नै कुटाकुट भएको थियो ।

छलफल चलिरहेको समयमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको इतर पक्षले आरोप लगाएको छ । पूर्व कोषाध्यक्ष शिव रिमाल कुटपिटबाट घाइते भएका छन् । टाउकोमा बढी चोट लागेका रिमालको उपचार स्टार अस्पतालमा भइरहेको छ ।

नेविसंघ अध्यक्ष शेर्पाले त्रिवि कीर्तिपुरका लागि केन्द्रीय प्रतिनिधि पदम भट्टराई तोकेका थिए । नेता शेखर कोइराला पक्षधरले प्रवीण कैनीलाई प्रतिनिधि बनाएको थियो । दुई पक्षबाट केन्द्रीय प्रतिनिधि हुँदा विवाद बढ्यो ।

केन्द्रीय प्रतिनिधि को हुने विवाद मिलाउन दुई पक्षको बैठक बिहीबार बसिरहेको थियो । संस्थापन पक्षका विद्यार्थी नेताका अनुसार इतर पक्षले प्रतिनिधि बनाएका कैनी नै पहिले हातपातमा उत्रेको आरोप लगाएको छ । कैनीले संस्थापन पक्षले प्रतिनिधि बनाएका पदमलाई थप्पड हानेको नेविसंघ अध्यक्ष दुजाङ पक्षको दाबी छ ।

विवाद साम्य भइसकेपछि ४०÷५० जनाको समूह प्रवेश गरि आफ्ना विद्यार्थी नेतालाई आक्रमण गरेको शेखर पक्षका विद्यार्थी नेता प्रेमिका रानामगरले बताइन् । ‘हाम्रो प्रतिनिधि र दुजाङले पठाएको प्रतिनिधिबीच वार्ता हुँदै गर्दा केटा पठाएर हाम्रो साथीहरुलाई आक्रमण गरे’, रानामगरले अनलाइनखरसँग भनिन्, ‘टियुको विद्यार्थी गएर कुटेका होइनन्, बाहिरका ल्याएर कुटाएका हुन् ।’

रिमाल कुटिएपछि इतर पक्ष आक्रोशित बनेर संघको केन्द्रीय कार्यालय तोडफोडमा उत्रियो । अनामनगरस्थित केन्द्रिय कार्यालयमा बिहीबार साँझ इतर पक्षका कार्यकर्ताले तोडफोड गरि भौतिक क्षति पु¥याएका छन् । प्रतिनिधिकै विषयले विवाद उत्पन्न भएकाले शुक्रबार नयाँ प्रतिनिधि अध्यक्ष शेर्पाले खटाएका छन् । पुरन रोकायालाई प्रतिनिधि बनाइएको छ ।

संघमा समानान्तर गतिविध गर्दै आएको इतर पक्षले स्ववियु निर्वाचनको लागि उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि चयन गरेको छ । संस्थापन पक्षले संस्थापनइतरले चयन गरेका प्रतिनिधिलाई मान्यता नदिने बताएको छ ।

त्रिविले शुक्रबार बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म निर्वाचनमा भाग लिने संगठनको दर्ता गर्ने समयतालिका बनाएको छ । स्ववियु निर्वाचनमा मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ ।

सभापति, सचिव, कोषाध्यक्ष र ६० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् भने अन्य पदमा समानुपातिक पद्धतिबाट छनोट हुनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते स्ववियु निर्वाचन गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment