२४ मंसिर ,काठमाडौ । चन्द्रागिरि नगरपालिका-८ मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा चन्द्रागिरि नगरपालिकामा हालै नियुक्त भएका नगर प्रहरीका लागि आधारभूत तालिम सम्पन्न भएको छ ।
आइतबार बिहान नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा सो तालिम आयोजना गरिएको चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
तालिम कार्यक्रममा चन्द्रागिरि नगर प्रहरीका नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवान गरी २३ जना सहभागी एका थिए । सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन शर्माको नेतृत्वमा खटिएका १३ जना प्रहरी टोलीले चन्द्रागिरि नगर प्रहरीलाई आधारभूत तालिम (प्रवचन) दिएको थियो
आधारभूत तालिम कार्यक्रममा चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, नगरको सुशासन समिति संयोजक श्रीकृष्ण खत्री, सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल लगायतको उपस्थिति रहेको थियो ।
तालिम तथा प्रवचन कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले जनचाहना अनुसारको सेवा प्रदान गरि नगरको कामकारबाहीमा दत्तचित्त भएर लाग्न नगर प्रहरीलाई निर्देश गर्नुभएको थियो । अनुशासन कुनै पनि व्यक्तिको प्रमुख शिक्षा भएको हुँदा सो शिक्षा भावी पुस्ताका लागि समेत सिकाउन पर्ने भएकोले नगर प्रहरी अनुशासित भएर कार्य क्षेत्रमा खटिन नगरप्रमुख गिरीले निर्देशन दिनुभएको बताइएको छ । सो कार्यक्रममा बोल्नुहुँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले नगर प्रहरीहरूले अनुशासन र सेवालाई एक अर्कासँग जोडेर कार्य क्षेत्रमा खटिनु पर्ने धारणा राख्नुभएको थियो ।
चन्द्रागिरि नगरमा यहि कार्तिक १५ गतेबाट २४ जना नगर प्रहरी सेवामा खटिएका छन् । नगर प्रहरी निरीक्षकको परीक्षामा भने कुनै पनि उम्मेदवार उत्तीर्ण नभएपछि सो पद रिक्त रहेको छ ।



