Comments Add Comment

Advertisment

SKIP THIS

म्यानमारमा नेपालीलाई बन्धक बनाई अनलाइन ठगी कार्यमा लगाउने कवितालाई प्रहरीले पक्राउ

काठमाडौं । म्यानमार पुर्‍याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाएको आरोपमा थप एक युवती पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले गोरखा धार्चे गाउँपालिका वडा नं ४ बस्ने २७ वर्षीया कविता गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

एसपी पंगेनीका अनुसार आरोपी गुरुङले दुई जनालाई थाइल्याण्डस्थित एक कम्पनीमा अङ्ग्रेजी टाइपिङको रोजगारीको प्रलोभन देखाएकी थिइन् । उनीहरूलाई त्यसरी टाइप गरे वापत मासिक एक हजार अमेरिकी डलर तलब पाउने आश्वासन देखाएकी थिइन् । त्यसपछि काठमाडौंमा रहेको आफ्नै घरमा बोलाएर टाइपिङ टेस्ट पनि लिइन् । त्यसमा उत्तिर्ण भएपछि प्रत्येक पीडितबाट दुई लाख ६० हजार रुपैयाँ लिइन् । त्यसपछि पीडितलाई झुक्याएर म्यानमारको म्यावाड्डीस्थित चिनीयाँ कम्पनीमा पुर्‍याइन् ।

उनीहरूलाई त्यस कम्पनीमा लगिसकेपछि बन्धक बनाएर दिनको १८ देखि २० घण्टासम्म विभिन्न व्यक्तिलाई अनलाइनमा ठग्ने काममा लगाइन् । उनीहरूलाई विशेषगरी फेसबुक, हृाटसएप, ट्वीटरजस्ता सामाजिक सञ्जाल मार्फत अमेरिकी, युरोपेली नागरिकलाई के कसरी ट्रयापमा पारी अनलाइनमार्फत बिटक्वाइन लगायत भर्चुअल करेन्सीमा लगानी गर्न आकर्षित गर्न सकिन्छ भन्ने बारेमा सात दिनको तालिम दिएको अनुसन्धानबाट खुलेको छ ।

पीडित नेपालीलाई काममा लगाइसकेपछि उनीहरूले भनेको टार्गेट पूरा नगरे पीडितलाई कुटपिट गर्ने, इलेक्ट्रिक सक (करेन्ट) लगाउने जस्ता शारीरिक, मानसिक यातना दिने गरेका थिए । कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी क्यामेरा समेत जडान गरी कम्पनीभन्दा बाहिर आफूखुसी जान नपाउने गरी कम्पनीभित्रै साइबर दास बनाएर राखेको एसपी कृष्ण पंगेनीले बताए ।

पीडितहरूले आफू जसरी पनि नेपाल फर्कन्छु भन्दा उनीहरूबाट आठ लाख रुपैयाँ तिर्न बाध्य पारेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेकी गुरुङमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ भने सो घटनामा संलग्न अन्य व्यक्तिको खोजीकार्य भइरहेको छ । यसअघि शुक्रवार म्यानमार लगी बन्धक बनाएर अनलाइन स्क्याम गर्न लगाएको आरोपमा ३६ वर्षीय एक युवक पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै