काठमाडौं: जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघद्धारा आयोजित ‘भूकम्प पीडितलाई राहात वितरण’ कार्यक्रममा संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत कार्य समितिका पदाधिकारी ज्यूहरूबाट विभिन्न राहात सामाग्री वितरण गरिएको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ राउत गाउँमा रहेका भूकम्प पीडितहरू सुत्केरी महिला- ४२, विद्यार्थी- ५०, मृतकका आफन्त – ३१, ज्येष्ठ नागरिक – ४ गरी जम्मा १२७ घरपरिवार र रूकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर – १४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहात सामाग्री वितरण गरिएको छ । भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर र Aquabox वितरण गरिएको थियो ।

राहात वितरणको क्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले जाजरककोट र रूकुम पश्चिमामा स्थलगत रूपमा पुगी भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुने हुँदा यस्तो विपदको समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु हामि सबैको साझा दायित्व रहेको कुरा व्यक्त गर्नु हुँदै भुकम्पमा ज्यान गुमाएका नागरिकहरू प्रति श्रद्धान्जली तथा शोक सन्तप्त परिवार प्रति समवेदना र घाईते व्यक्तिहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघले सदैव पीडामा परेका नागरिकहरूलाई जुनसुकै परिस्थितिमा पनि सेवा प्रदान गर्नको लागि अहोरात्र खटिरहेको र भूकम्प पीडित परिवारहरूलाई तत्काल राहात प्रदान गर्नको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट रू ५ लाख ५५ हजार ५ सय ५५ रूपैँया उपलब्ध गराईसकेको व्यहोरा समेत जानकारी गराउनु भयो ।

राहत वितरण कार्यक्रममा श्रीमती संघकी अध्यक्ष लगायत महासचिव अनुश्री पाख्रीन, केन्द्रिय कार्य समिति सल्लाहाकार निलम कडायत, सह-कोषाध्यक्ष कमला खनाल साथै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारी ढकाल र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा आठविसकोट नगरपालिकाका उप-प्रमुख धन कुमारी कुसारी लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।




