काठमाडौँ । न्यायाधीशहरू आफ्नो सहपाठी रहेको भन्दै मुद्दा मिलाइदिन्छु भनेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी लोहपट्टी नगरपालिका–७ घर भई हाल काठमाडौँको तीनकुने बस्ने ५४ वर्षीय रत्नेश्वरप्रसाद शर्मा रहेका छन् ।
शर्माले बैंकिङ कसुर मुद्दामा थुनामा रहेकाहरूलाई सजिलै मुद्दामा कानुनी उन्मुक्ति दिलाउने विश्वास दिलाई विभिन्न बैंक खातामा १० लाख १६ हजार रुपैयाँ लिएर ठगी गरेका थिए । उनलाई गत पुस १३ गते काठमाडौँको थापागाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।