१८ पुष, काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन त्रिवि सभापति श्याम ओझामाथि ठेक्कापट्टा, कर्मचारी सरुवा र आर्थिक चलखेललगायतको आरोप लागेको छ ।
विभिन्न राजनीतिक दलका पाँच विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै उनीमाथि ठेक्कापट्टा, असुली धन्दा, कर्मचारीको सरुवा बढुवा र आर्थिक चलखेलको आरोप लगाएका हुन् ।
यसका साथै सभापति ओझाको कार्यशैलीप्रति यी संगठनले आपत्ति जनाएका छन् ।
अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारी, अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष प्रदीपराज कपाडी भट्ट, अनेरास्ववियू त्रिवि अध्यक्ष समीर गौतम, नेपाल समाजवादी विद्यार्थी युनियन त्रिवि समिति इन्चार्ज रामनरेश यादव र अखिल छैटौँ त्रिवि अध्यक्ष संगम थापाले संयुक्त विज्ञप्ति जारी गरी स्ववियु सभापतिको कार्यशैलीप्रति विरोध जनाएका हुन् ।
यी संगठनहरूले स्ववियूले समग्र विश्वविद्यालयको प्रशासनिक र नीतिगत समस्यालाई समाधान गर्नुको साटो ठेक्कापट्टा, असुली धन्दा, कर्मचारीको सरुवा बढुवा र आर्थिक चलखेलमा लागेको आरोप लगाएका छन् ।
ओझाले यस्ता कार्य नसच्याए कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।








