काठमाडौं: बालकुमारीसँग मिल्दोजुल्दो घटना पूर्व आईजीपी रवीन्द्र प्रताप शाहले सम्झिएका छन् । उनले ‘भीआईपी’को ढिपीका कारण अनाहकमा सर्वसाधारणको ज्यान जाने कुरा सामाजिक सञ्जाल ‘फेसबुक’मा लामो स्ट्याटस लेखेर स्मरण गराएका छन् ।
ललितपुरको बालकुमारीमा पुस १३ मा भएको प्रदर्शनमा दुई जना युवक मारिए । प्रहरीले प्रहार गरेको गोली अछामका वीरेन्द्र शाहको पेटमा लागेको छ । दैलेख घर भएका सुजन रावतको छातीमा नीलडाम भेटिएको छ । सुजनलाई गोली नलागेको तर, भागदौडमा मृत्यु भएको हुनसक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।
शाहले लेखेको छन्–‘यस्ता घटनाबाट अरूले सिके त हो, तर हामीमा अहम् छ ज्ञानमा पूर्ण छौँ । आफू सिक्दैनौँ अरूलाई मात्र सिकाउन खोज्छौँ ।’
जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रमुखको रुपमा करीब ३० महिना कार्यरत रहे | त्यो समयमा DySP नै कार्यालय प्रमुख रहने ब्यबस्था थियो | ०४६को जनान्दोलनले प्रजातंत्रको पूनर्वहाली गरे पश्चात भएको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले साधारण वहुमत ल्याएको थियो | नेपाली कांग्रेसले वहुमत ल्याएपनि किसुनजीको पराजय भएकोले गिरीजाबाबुको नेतृत्वमा सरकार बनेको थियो |
त्यही सरकारमा शेर वहादुर देउवा गृहमंत्री, रामचन्द्र पौडेल स्थानीय विकास मंत्री र शैलजा आचार्य कृषी मंत्री हुनुहुन्थ्यो | म आम निर्वाचमा रसुवामा थिंए, त्यसपछि मेरो सरुवा कैलाली भएको हो | CDO देवेन्द्र वहादुर सिंह थिए | साल याद भएन २०४९ हो कि २०५०, घटना भने चैत्र २४ गतेको हो |
त्यतिबेला प्रत्येक बर्ष जनमोर्चाले चैत्र २४ गते जनान्दोलन दिवसको रुपमा मनाउने गर्दथ्यो, अहिले मनाउछ कि मनाउंदैन थाहा छैन | त्यो बेला जनान्दोलन दिवस मनाउने प्रकृया अलि फरक पनि थियो, अहिलेको जस्तो शान्तिपूर्ण हुंदैन थियो | अर्थात जनान्दोलन दिवस भनेपनि हुन्थ्यो विरोध दिवस, त्यो पनि अलि हिंसात्मक नै | त्यसदिन पनि जनमोर्चाले नेपाल बन्दको आयोजना गरेको थियो | संयोग नै मान्नु पर्छ, स्थानीय विकास मंत्री रामचन्द्र पौडेल पनि त्यतिखेर धनगढी मै थिए र त्यही दिन नेपालगंज गै भोलीपल्ट काठमांडौ उड्ने उहॉको कार्यक्रम थियो |
धनगढी देखी चिसापानी सम्मको सडकको अवस्था ज्यादै दयनीय थियो | कर्णालीमा पूल थिएन, फेरीबाट गाडी र यात्रु तारिन्थ्यो | चिसापानी देखी धनगढी सम्म पनि खोला, नाला, नदी कतै पूल थिएन | पिच भने कतै कतै भेटिन्थ्यो | गाडीहरु सबै खोला, नाला, नदीबाटै लैजानु पर्थ्यो | धनगढीबाट चिसापानी पुग्न दिनभरी जस्तै लाग्थ्यो |
संधै झै त्यसदिन पनि अर्थात चैत्र २४ गते संयूक्त जनमोर्चाले नेपाल बन्दको आव्हान गर्यो | तर, त्यही दिन स्थानीय विकास मंत्रीलाई पनि नेपालगंज नगै नहुने | प्रमुख जिल्ला अधिकारी र म मंत्रीलाई भेटेर “कैलाली जनमोर्चाको राम्रै पक्कड भएको जिल्ला हो, नेपाल बंदको आव्हान गरेका छन | बाटोमा अपृय घटना घट्न सक्छ, भोली सवेरै नेपालगंज तर्फ लाग्न पाए हुन्थ्यो” भनि अनुरोध गरियो |
प्रजातंत्र पूनर्सथापना पछिको पहिलो निर्वाचित सरकारका जल्दाबल्दा स्थानीय विकास मंत्रीज्यू, हामीले भनेको कसरी मान्नु | “भोली क्याविनेट छ, म आज जसरी पनि नेपालगंज पुग्नै पर्छ, बॉकी कुरा तपाईहरु मिलाउनुस।” मंत्रीज्यूले नै त्यसो भनि सकेपछि मंत्रीद्यूलाई लिएर चिसापानी तर्फ लाग्नुको विकल्प रहेन |
अहिलेको जस्तो प्रयाप्त प्रहरी थिएन, शसस्त्र प्रहरी पनि जन्मेकै थिएन | जम्मा १५ जना प्रहरी सहित CDO र म मंत्रीलाई लिएर बाटो लागियो | ठॉउ ठॉउको अवरोधहरु हटाउदै लम्की पुगियो | त्यहॉ त सडक मैं गजबको पर्खाल नै लगाएर अवरोध गरिएको रहेछ, मंत्रीज्यूको सुरक्षाको चिन्ताले हामीलाई सतायो | | म आफै गाडीबाट ओर्लेर आन्दोलनकारीहरु लाई, “भिडन्त नगरौ, मंत्रीजीलाई जान दिनुस, बरु हामी पनि तपाईहरुको कार्यक्रम सकिएपछि मात्र फर्कौला, पर्खाल केही समयलाई हटाउनुस।” भने, तर मानेनन |
तैपनि मंत्रीज्यूलाई जानै पर्ने, म र अरु प्रहरीहरु भएर पर्खाल हटाउन लागेको मात्र के थियौं, चारैतिरबाट बरर्र ढुंगा वर्सिन थाल्यो, CDO को गाडीको शिशा फुट्यो, केही प्रहरीले मंत्रीको गाडीलाई सुरक्षा दिए | बॉकी १० जनाले के गर्नु? मैले CDO लाई सोधे, “ के गरौ सर?” “अरु उपाय छैन, ठोक्नुस”, भन्नु भयो |
मेरो आदेश पाउने वित्तिकै केटाहरुले फ़ायर खोलिहाले, २ जना आन्दोलनकारीहरु ढले | बॉकी भीड तितर वितर भयो, मौका छोपेर ढलेका २ ब्यक्तिलाई समेत गाडीमा राखी हामी मंत्रीजी लाई लिएर चिसापानी तिर बढ्यौ |
चिसापानी पुगेर फेरी चढ्ने बेला मंत्री जी ले भन्नु भयो, “हेत्तरी ! साह्रै नमज्जाको घटना भयो, कति जना मरे ?” “हामीले त सरलाई अनुरोध गरेकै थियौं, आज नजाऔं भनेर | गोली कतिलाई लाग्यो भन्ने यक़ीन छैन सर, गोली लागेको २ जना हामीसंग छन, मरेका छन कि बॉचेका छन, अवस्था बुझ्न पनि पाएको छैन।” त्यसपछि उहॉ विस्मात मान्दै नेपालगंज तिर लाग्नु भयो | तर, अब विस्मात मानेर हुनेवाला केही थिएन | यस्ता घटनाबाट अरुले सिके त हो, तर हामीमा अहं छ, ज्ञानमा पूर्ण छौं | आफु सिक्दैनौ, अरुलाई मात्र सिकाउन खोज्छौ
मंत्रीज्यूलाई फेरी चढाई पारी(वर्दियाँ) पुर्याएर हामी पनि धनगढी तिर लाग्यौ | धनगढी CDO Office पुग्दा सेती अंचल SSP टीकाराम सुवेदी सर(पूर्व DIG महेश विक्रम शाहका ससुरा) हामीलाई नै पर्खेर बसि रहनु भएको रहेछ |
हामीसंग रिपोर्ट लिएर तुरुन्तै IGP र क्षेत्रीय DIG लाई भन्दै हुनुहुन्थ्यो, “मंत्रीजीलाई शुरुमै आज नगै भोली विहानै जान अनुरोध गर्दा नमानेको, कैलाली र अझ बिशेष गरेर घटना भएको ठॉउ लंम्कीमा आन्दोलनकारीहरुको राम्रै पक्कड भएको, प्रहरी जनशक्ति एकदमै कम भएकोले फायर नखोली मंत्री सुरक्षित हुने अवस्था नभएको, त्यसमा पनि CDO र DySP दुबै ठकुरी परे, के बॉकी राख्थे, ठोके हजुर ठोके, एकदमै ठिक गरे, नत्र मंत्रीजीलाई पनि के हुन्थ्यो भन्न सकिने अवस्था थिएन हजुर।”