काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ परेका एक नक्कली डाक्टर सार्वजनिक गरेको छ । विराटनगर-२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई सार्वजनिक गरिएको हो । उनले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका थिए ।
शैक्षिक प्रमाणपत्रदेखि नेपाल मेडिकल काउन्सिलसम्मको कागजात नक्कली बनाएर डा. एस भट्ट आचार्यको नामबाट ठगिरहेको बताइएको छ ।
प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् ।
त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ । आफूलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्सी बताउँदै बज्राचार्यले उपचार गर्दै आएको प्रहरी बताउँछ । त्यस्तै विदेश जानेका लागि नक्कली मेडिकल रिपोर्ट समेत बनाउँदै आएका थिए ।