काठमाडौं: नेपाल प्रहरी श्रीमती संघको आयोजना,नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय खानीखोलाको समन्वय तथा व्यवस्थापनमा जिल्ला जिल्ला धादिङ थाक्रे गाँउपालिका वडा नं.७ स्थितमा रहेको कालिका माध्यामिक विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको अध्यक्षता तथा थाक्रे गाँउपालिकाका अध्यक्ष राम कुमार आचार्यको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, ईलाका प्रहरी खानीखोलाका प्रहरी निरीक्षक देवेन्द्र बहादुर शाह,थाक्रे गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष युवराज खतिवडा लगायत अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरु समेतको उपस्थितीमा सम्पन्न भएको उक्त स्वास्थ्य शिविरमा ३६७ जना सर्वसाधरण महानुभावहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको छ ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा स्त्री रोग, बाल रोग,नाक, कान, घाँटी तथा सामान्य चिकित्सा सेवा प्रदान गरी नि:शुल्क औषधी समेत वितरण गरिएको थियो भने उक्त विद्यालयमा अध्ययनरत चेपाङ समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा स्कुल ब्याग समेत वितरण गरिएको छ ।