प्रहरी जवानमाथि कार्यालयमै छुरा प्रहार, निधार, घाँटी, हात र पेटमा चोट -
Comments Add Comment

प्रहरी जवानमाथि कार्यालयमै छुरा प्रहार, निधार, घाँटी, हात र पेटमा चोट

२२ माघ, काठमाडौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन थापाले प्रहरी जवान महतोमाथि छुरा प्रहार भएको जानकारी दिए ।

कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको हो । ट्राफिक कार्यालय अगाडि पुर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेको बताइएको छ ।

जवान महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा निजलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाईते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment